काठमाडौँः कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित भइ सङ्क्रमणमुक्त भएपछि पनि केही बिरामीहरू पूर्ण रूपले निको हुन सकेका छैनन् ।

कोभिड–१९ निको भएपछि पनि केही बिरामीको स्वास्थ्यमा निरन्तर वा केहीमा तीनदेखि चार सातापछि समस्या देखिएको छ । सङ्क्रमण मुक्त भएका मानिसमा केही समयसम्म सङ्क्रमणको लक्षण वा अन्य स्वास्थ्य समस्या देखिन्छ, जसलाई लङ कोभिड, दीर्घ कोभिड वा पोस्ट कोभिड भन्ने गरिन्छ । अस्पताल भर्ना भएका तथा गम्भीर सङ्क्रमण भएका बिरामीमा यस्तो समस्या बढी देखिएको छ । तर, सामान्य सङ्क्रमण भई घरमै आइसोलेसनमा बसेका वा सङ्क्रमणका कारण गम्भीर बिरामी नभएकाहरूमा पनि लङ कोभिडका लक्षणहरू देखापरिरहेका छन् । लङ कोभिडका बिरामीहरूमा शारीरिक तथा मानसिक दुवै खालका लक्षण हुन सक्छन् । र, यस्तो समस्याले निरन्तर लामो समयसम्म सताउन सक्छ । मौसम परिवर्तनसँगै सङ्क्रमणमुक्त भएका बिरामीहरूमा ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या बल्झिने गरेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ डाक्टर नीरज बमका अनुसार वर्षा र मौसम परिवर्तनसँगै लङ कोभिडको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । त्यस्तै, सङ्क्रमण हुँदा निमोनिया देखिएकाहरू फेरि बिरामी हुन थालेका छन् ।

उनका अनुसार विभिन्न ब्याक्टेरिया, भाइरस र फङ्गसका कारण निमोनिया भएका बिरामीमा फेरि पनि सङ्क्रमण भएको हुनसक्छ । यसबाहेक अत्यधिक थकान हुने, शरीर दुखाइ, जोर्नीमा दुखाइ, रिँगटा लाग्ने, खाना नरुच्ने, मांसपेसी कमजोर हुने श्वासप्रश्वासमा समस्या, कपाल झर्ने समस्या, मुटुमा समस्या बढी देखिएको छ । शिक्षण अस्पतालका मनोरोग विशेषज्ञ डाक्टर सरोजप्रसाद ओझाका अनुसार सङ्क्रमणमुक्त भएका धेरैमा मानसिक समस्या पनि देखिएको छ । अस्पताल आउने धेरै बिरामीमा निद्रामा समस्या, चिन्ता तथा तनाव बढेको पनि पाइएको छ । धेरै जनामा एन्जाइटी तथा डिप्रेसनका लक्षण देखिएको, धेरै पसिना बग्ने, मुटुको चाल बढ्ने, डर लाग्ने, कुनै विषयमा ध्यान केन्द्रित गर्न नसक्ने, कुराहरू बिर्सने, छटपटी हुने गरेको पाइएको छ । यसबाहेक पहिले बालबालिकामा मात्र देखिने भनिएको मल्टिसिस्टमेटिक इन्फ्लामेटरी सिन्ड्रम (एमएसआइसी) हाल वयस्कमा पनि पहिचान भएको पल्मनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डे बताउँछिन् । -बीबीसीबाट