गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि अफगानिस्तानको राजधानी शहर काबुलमा देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापक वृद्धि गरेका छन् भने बैङ्किङ सेवा पनि ठप्प भएको पाइएको छ ।

खामा प्रेसकाअनुसार बैङ्क बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै अत्तोपत्तो छैन । बैङ्कहरू बन्द हुँदा आफ्नो बैङ्क खातामा पैसा भएपनि काबुलबासीहरूले आफ्नो रकम झिक्न बैङ्किङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।

शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैङ्क, अफगानिस्तान–डे अफगानिस्तान बैङ्कमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैङ्कले सेवा सञ्चालन पुनःआरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । निजी बैङ्कले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैङ्क खुल्नेबारे कुनै औपचारिक घोषणा भने भएको छैन । रासस\एएनआई