इटहरीः मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आज बिहान ८ः३० बजे आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको छ । मागभन्दा बढी आवेदन परेको कम्पनीको प्री–अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । गोलाप्रथाबाट शेयर बाँडफाँट भएको हो । यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर माग गर्दै आवेदन परेको थियो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ शेयर ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले हात पार्ने छन् ।

आवेदकको ठूलो संख्या झन्डै ९८ प्रतिशतको हात रित्तै हुने भएको छ । साउन २७ गतेदेखि ३१ गतेसम्म बिक्री खुल्ला गरिएको आईपीओ कम्पनीको पूँजीको ३६ प्रतिशत अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले मानुषीको आईपीओलाई ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।