इटहरीः भदौ महिनाको पहिलो आईपीओ तेह्रथुम पावर कम्पनीले भोलिदेखि निष्कासन गर्दैछ । कम्पनीले सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता शेयर निस्कासन गर्न लागेको हो ।

कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) शेयर कर्मचारीलाई सुरक्षित गरेको छ भने बाँकी सर्वसाधारणको लागि निष्कासन गर्ने भएको हो । । तेह्रथुमको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइने भएको छ । तर प्राथमिक शेयर बजारमा लगानीकर्ताको भीड भएकाले निष्कासन हुने थोरै शेयरमा १० कित्ताभन्दा बढी लगानी गर्नु उपयुत्त मानिँदैन । तथापि शेयर बजारमा नयाँ लगानीकर्ताले भने एक सय रुपैयाँमा आईपीओ भर्न सकिने भएकाले आईपीओमा लगानी राम्रो मानिन्छ । तेह्रथुम पावरको शेयर बिक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल रहेको छ । यो शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र सोझै घरमै बसिबसी मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रेटिङ दिएको छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको जलविद्युत कम्पनीको प्रतिमेगावाट लागत भने १७ करोड ८८ लाख रुपैयाँ छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यसअघि नै ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ ।