इटहरीः साताको पहिलो कारोबार भएको मंगलबार नेपालको शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ ।

३ हजार २ सयभन्दा माथिको उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक मङ्गलबार ५६.०३ अङ्कले घटेको छ । तर खरिदबिक्री रकम भने औसतमा राम्रो रहेको छ । यो दिन १६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । फाइनान्स र निर्जीवन बीमा समूह बढेको छ । बाँकी समूह घटेका छन् । विशेषगरी हाइड्रोपावर कम्पनीहरुको शेयरको भाउ घटेको छ । विकास बैंक, इन्भेस्टमेन्ट लगायतका समूहमा पनि ह्रास आएको छ । केही महिनादेखि लगातारजसो बढिरहेको हाइड्रोपावरको शेयर निकै माथि पुगेको थियो । बियरिस बजारमा अधिकांश हाइड्रोपावरको भाउ १०० रुपैयाँभन्दा तल थियो । तर बुल मार्केट सुरु भएसँगै हाइड्रोमा व्यापक तेजी आएको हो । जलविद्युत समुहको शेयर मूल्य बढेपछि विद्युत नियमन आयोगले समेत लगानीकर्ताहरुलाई सचेत गर्दै विज्ञप्ति जारी गरेको थियो तत्पश्चात यो समुहका लगानीकर्ता अर्कै सुरक्षित लगानीको खोजीमा हिँडे भने यो समूहको शेयर मूल्य निरन्तर ओरालो लागेको छ ।

भाउ बढेपछि भाग्ने र फेरि सस्तोमा खरिद गर्नेहरु पनि त्यत्तिकै हुन्छन् । शेयर बजारमा त्यसैले पनि हाइड्रोमा करेक्सन देखिएको विश्लेषण हुन थालेको छ । सेक्टर परिवर्तन हुँदै बजार बढिरहेको देखिन्छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण अनुसार कोरोनाको विकराल अवस्थामा पनि कम्पनीहरुले नाफा वृद्धि गरेका छन् । शेयर बजार तलमाथि भइरहने बजार पनि हो त्यसैले पनि सामान्य परिसूचक घट्नुलाई ठूलो रुपमा लिइँदैन । सकेसम्म अलि लामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्नेहरुलाई सामान्य उतारचढावले प्रभाव नपार्ने शेयर बजार विश्लेषकहरु बताउँछन् । मङ्गलबारको शेयर बजारमा २२५ कम्पनीको २ करोड ५३ लाख १६ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।