इटहरीः सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर कारोबारमा मुछिएका नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

साउदले मङ्गलबार साँझ राजीनामाको घोषणा गरेका छन् । अर्थ मन्त्रालय र संसदीय समितिको छानबिनमा मुछिएका साउदले अर्थ समितिले गरेको सोधपुछमा शेयर खरिद गरेर आफूले गल्ति गरेको स्वीकार गरेता पनि कानूनले आफूहरुले शेयर खरिद गर्न नहुने भनेर बन्देज नगरेको स्पष्टिकरण दिएका थिए । प्रिमियमसहित प्राथमिक शेयर आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर आईपीओ जारी नहुँदै आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीइओ साउद विवादमा तानिएका हुन् ।

संसदको अर्थ समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओ साउदलाई निलम्बन गरी कारबाही सुरु गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । राजीनामा घोषणा गर्नुअघि साउद अर्थ मन्त्रालयमा पुगेको समाचार छ ।