इटहरीः नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सार्वजनिक गरेको शेयर धितो कर्जाको सीमालाई परिवर्तन नगर्नेगरी बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिएको छ ।

बैंकहरुले मार्जिन प्रकृतिको शेयर धितो कर्जा लिने ऋणीले आगामी एक वर्षभित्र राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउनुपर्ने भएको छ भने अब बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर एक व्यक्ति वा संस्थालाई बढीमा ४ करोडसम्म मात्र ऋण प्रवाह गर्न पाउनेछन् । एक व्यक्ति तथा संस्थाले भिन्न बैंक तथा वित्तीय संस्थाबाट भने बढीमा १२ करोड रुपैयाँसम्म ऋण लिन सक्नेछन् । राष्ट्र बैंकले मङ्गलबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै एक संस्थाबाट ४ करोडभन्दा बढी र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिएको छ भने एक वर्षभित्र राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउनुपर्ने गरी निर्देशन दिएको छ ।

निर्देशन जारी हुनुपूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधिसम्म वा एक वर्षभित्र तोकिएको सीमामा ल्याउनुपर्ने उल्लेख छ । मार्जिन शेयर धितो कर्जाको विषयलाई लिएर ठूला लगानीकर्ताले राष्ट्र बैंकसँग असन्तुष्टि पोखेका थिए भने अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेर नीति सच्याउन भनेका थिए । अर्थमन्त्रीले शेयर बजारलाई बिग्रिन नदिने भनेता पनि राष्ट «बैंकले भने लगानीकर्ताको आवाजलाई अस्वीकार गरेको छ ।