इटहरीः गत हप्तासम्म जलविद्युत समूहमा झुम्मिएका लगानीकर्ताले लगातार घाटा खाएपछि शेयर बजार परिसूचक नेप्से निरन्तर ओरालो यात्रामा लागेको छ । 

साताको दोस्रो कारोबार भएको बुधबार नेप्से परिसूचकमा ४८ दशमलव ४२ अङ्कको गिरावट आएको छ भने परिसूचकलाई जनाउने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ६७ अङ्कले घटेको छ । बुधबारको कारोबारबाट नेप्से परिसूचक ३०७६ दशमलव ४४ कायम भएको छ । अघिल्लो हप्ता ३२०० अङ्कसम्म पुगेको शेयर बजार निरन्तर ओरालो लाग्दा अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ । बजार घटेपछि अवश्य बढ्छ भन्ने आशामा केहप् लगानीकर्ताले होल्ड गरेका छन् भने घटेर धेरै नोक्सान हुने डरमा केही लगानीकर्ताहरु बेच्नतिर तम्सिरहेका छन् । ठूला लगानीकर्ताले भने बजारलाई घटाउन राष्ट्र बैंकले मङ्गलबार जारी गरेको एकीकृत निर्देशनले प्रभाव पारेको बताइरहेका छन् ।

एकीकृत निर्देशनमार्फत् केन्द्रीय बैंकले ठूला लगानीकर्ताले अपेक्षा गरेको शेयर धितो कर्जाका मार्जिनमा केन्द्रीय बैंकले मौद्रिक नीतिलाई हेरफेर नगरेपछि शेयर बजार प्रभावित भएको बताइन्छ । दैनिक कारोबारलाई हेर्ने हो भने पनि बुधबार नेप्सेमा जम्मा १२ अर्ब मात्र कारोबार भएको छ । अघिल्लो दिन यो अङ्क १६ अर्बमा थियो भने अघिल्लो हप्ता एकैदिन २२ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको थियो । यो दिन २ सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबारको आधारमा हेर्ने हो भने यो दिन अरुण काबेली हाइड्रोपावरको उच्च कारोबार भएको छ भने दोस्रो र तेस्रोमा रिडी हाइड्रो र अरुणभ्याली हाइड्रो छन् । बुधबार सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने यसका लगानीकर्ताले राम्रो मुनाफा कमाउन सफल भएका छन् । समूहगत परिसूचक सबै समुहको घटेको छ सबैभन्दा बढी विकास बैंक, निर्जीवन बीमा समूहको सुचकाङ्क ठूलो अङ्कले घटेको छ ।