इटहरीः कम्पनीहरुको साधारण शेयर भर्दाभर्दा नपरेर हैरान भएका लगानीकर्तालाई केही राहत दिन एनएमबी क्यापिटल मार्केट्स लिमिटेडले खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ ।

क्यापिटलले एनएमबी सरल बचत फण्ड—ई नामक फण्ड निष्कासनमा ल्याउन लागेको हो । एनएमबीको सो फण्डको एकाईका लागि भदौ १७ गतेदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिएकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड एकाई बिक्री गर्दैछ । निष्कासन गरिने कुल एकाईमध्ये ४० प्रतिशत अर्थात् ४ करोड एकाई पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले बताएको छ । त्यसैगरी, कूल एकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख एकाई कोष प्रवद्र्धक एनएमबी बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबी क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख एकाई सर्वसाधारणका बिक्री गरिनेछ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्डको एकाईमा भदौ २१ गतेसम्म भरिसक्नु पर्छ ।

भदौ २१ गतेसम्म सबै एकाई बिक्री नभएको खण्डमा भदौ ३१ गतेसम्म आवेदन म्याद थप गर्ने कम्पनीले जनाएको छ । एनएमबीले बिक्री गर्न लागेको यो खुल्लामुखी फन्ड हो । खुल्लामुखी फन्डलाई बिक्री गर्नुपरेको खण्डमा भने निष्कासन गर्ने कम्पनीको कार्यालयमै गएर आवेदन दिनुपर्ने प्रक्रिया हुन्छ । साधारण शेयर नपरेर हैरान भएका लगनाीकर्ताले म्युचुअल फण्डमा लगानी गरेर पनि राम्रो कमाइ गर्न सकिन्छ जसको उदाहरण पछिल्लो पटक भटाभट लाभांश बाँडिरहेका फन्डहरु नै छन् । इच्छुक लगानीकर्ताले प्रतिएकाई १० रुपैयाँको दरले न्यूनतम १०० एकाईदेखि अधिकतम ४० लाख एकाईका लागि आवेदन दिन सकिन्छ । एनएमबीको यो फन्ड खरिद गर्नका लागि धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।