इटहरीः सर्वोत्तम सिमेन्ट कम्पनीको शेयरको इन्साइडर ट्रेडिङ्गमा मुछिएका चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक पदबाट राजीनामा दिएका छन् ।

उद्योग वाणिज्य महासंघको तर्फबाट धितोपत्र बोर्डको सञ्चालक पदमा चुनिएका ढकाललाई राजीनामा गर्न सर्वत्रबाट दबाब आएपछि बुधबार उनको राजीनामा आएको हो । उद्योग वाणिज्य संघबाट एक जना प्रतिनिधि नेपाल धितोपत्र बोर्डको सञ्चालकमा रहने व्यवस्था अनुरुप ढकाल त्यसको प्रतिनिधित्व गर्न पुगेका थिए । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । महासंघले नै चुनेर पठाएका प्रतिनिधिलाई बोर्डले सञ्चालकको रुपमा ग्रहण गर्ने भएकाले अब महासंघले सञ्चालक चुनेर पठाउनुपर्छ । 

सोही कम्पनीको शेयर आफ्नी श्रीमतिको नाममा खरिद गरेका नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मङ्गलबार राजीनामाको घोषणा गरेका थिए । प्रिमियमसहित ठूलो मुल्यको साधारण शेयर निष्कासन गर्न तम्सिएको सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर भित्री रुपमा खरिद गरेका अर्का नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना भने आफूले कुनै गलत काम नगरेको भन्दै कानूनी लडाईँ लड्ने प्रतिक्रिया दिँदै आएका छन् ।