बेलायतमा कोभिडको दुवै डोज खोप लगाइसकेकाहरुमा पनि बिस्तारै भाइरस विरुद्धको सुरक्षा हराउँदै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

वास्तविक जीवनमा आधारित रहेर सञ्चालन गरिएको यस रिसर्चमा २०२१ को मे र जुलाई बीच प्राप्त पोजेटिभ कोभिड पीसीआर परीक्षण नतिजा समावेश गरिएको थियो जसमध्ये दश लाख भन्दा बढीले फाइजर या एस्ट्राजेनेका खोपको दुवै डोज लगाइसकेका थिए । यस्तोमा पाँच देखि छ महिनाका बीच फाइजरको दुई डोज खोपले दिने सुरक्षा एक महिनामै ८८ प्रतिशतबाट घटेर ७४ प्रतिशत पुगेको पाइएको हो । त्यस्तै एस्ट्राजेनेका खोपले दिलाउने सुरक्षा पनि चारपाँच महिनामा ७७ प्रतिशतबाट ६७ प्रतिशतमा झरेको पत्ता लागेको छ । विज्ञहरुका अनुसार यस किसिमले खोपको असर घट्दै जानु अपेक्षित थियो । तर अझै पनि कोभिड खोप, भाइरसका कारण गम्भीर बिरामी हुनबाट र मृत्युबाट जोगाउन अत्यन्तै प्रभावकारी रहेको उनीहरुले बताए । जस्तै बेलायतमा मात्र कोभिड विरुद्धको खोप लगाउनुले ८४ हजार बढीलाई मृत्युबाट जोगाएको र झन्डै २ करोड ३० लाख मानिसलाई संक्रमित हुनबाट पनि बचाइएको ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ ले बताएको छ । अनुसन्धानका मुख्य खोजकर्ता प्रोफेसर टिम स्पेक्टरका अनुसार यो नतिजाले हालैमा खोप लगाइसकेका केही क्षेत्रमा बढ्दो संक्रमणको कारण खुलाएको छ ।

प्रोफेसर स्पेक्टर भन्छन्, “हो खोपले दिने सुरक्षा बिस्तारै हराउँदै जानु स्वभाविक हो तर यो खोप नलगाउने कारण चाहिँ कदापी होइन । किनकी कोभिड खोपले वास्तवमै भाइरस विरुद्ध अधिकांश जनसङ्ख्यालाई उच्च स्तरमा सुरक्षा दिलाउँछ । विशेषगरी डेल्टा भेरियेन्टको प्रकोपबाट बच्न हामीले धेरै भन्दा धेरैलाई खोप लगाउनुपर्छ । ” उनको प्रक्षेपण अनुसार खोपले दिने सुरक्षा जाडोयाम सम्ममा ५० प्रतिशतले घट्न सक्छ र बुस्टर डोज आवश्यक पर्न सक्छ । तर स्वास्थ्यविद्हरुले कोभिड अवस्था सम्बन्धी महिनौँ अगाडिको घटनाबारे अहिले नै अनुमान लगाउँदा एकदमै सावधानी अपनाउनुपर्ने बताउँदै आएका छन् । यता बेलायतले अर्को महिना देखि नै केही निश्चित वर्गलाई तेस्रो डोज प्रदान गर्न सुरु गर्नका लागि हाल स्वतन्त्र सल्लाहकार समुह, जेसीभीआइको सुझाव पर्खिरहेको छ । जेसीभीआइले बुस्टर डोज आवश्यक पर्नेबारे प्रमाण खोजिरहेको छ । 

यसबारे प्रोफेसर स्पेक्टर भन्छन्, “धेरै मानिसहरुलाई तेस्रो डोज आवश्यक नपर्न पनि सक्छ । किनकी उनीहरुमा पहिले नै कोभिड संक्रमणका कारण प्राकृतिक बुस्टर हुन सक्छ जुन तीनवटा खोप लगाए बराबर हुनेछ । यसकारण पनि तेस्रो डोज दिने विषयमा जोकोहीलाई सुइ लगाउने होइन कि, अत्यन्तै ध्यानपूर्वक यसको व्यवस्थापन गर्नुपर्छ नत्र यो श्रोतसाधनको नाश मात्र हुनेछ । त्यसैले हामीले पहिले भन्दा अझ बढी लक्षित नीति अपनाउनुपर्ने हुन्छ । ” युनिभर्सिटी अफ रिडिङका डाक्टर एलेक्जेन्डर एड्वर्डसका अनुसार तेस्रो बुस्टर डोज कसलाई र कहिले आवश्यक पर्नेछ भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ । त्यसैले सक्रिय र सावधानीपूर्वक सार्वजानिक स्वास्थ्य नीति लागू गराउनुपर्ने उनले बताए । -बीबीसीबाट