इटहरीः कोरोना महामारीका बीच सबै क्षेत्रमा बन्दाबन्दीको प्रभाव परेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घटेको भएपनि वैदेशिक रोजगारीमा गएका युवाले पठाउने रेमिट्यान्स भने बढेको छ । 

गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय विवरण अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम अघिल्लो आर्थिक वर्षभन्दा ९ दशमलव ८ प्रतिशतले बढेको छ । असारसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले बढेर ८ अर्ब १५ करोड डलर पुगेको छ ।

लकडाउनका कारण हुण्डीमार्फत् कारोबार गराउनेहरुले घरघरमा पैसा पुर्याउन नसकेका कारण अधिकांश रेमिट्यान्स बैंकिङ्ग च्यानलबाट भित्रन थालेपछि आप्रवाह बढी देखिएको हो । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सका झण्डै आधा हिस्सा अवैधानिक तवरले देशमा आउने गरेको छ । असार मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२.८% ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि ४६.८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो । विश्वव्यापी कोरोनाको प्रभावले गर्दा रोजगारी गुम्ने क्रम बढेपछि पुनः स्वीकृति लिने नेपालीको सङ्ख्यामा गिरावट आएको हो भने नयाँ कामदार लान सक्ने अवस्था नआउँदा रोजगारीबाट हात धुने नेपालीको सङ्ख्या भने दिनहुँ बढेको छ ।

Screenshot 2021-08-27 135017