इटहरीः शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुको समूहको कारोबारमा गिरावट आउँदा समग्र परिसूचक घटेको छ । गत साता ३१८० अङ्कमा रहेको नेप्से परिसूचक यस साता ८६ अङ्कले घटेर ३०९४ मा कायम भएको छ । साताको अन्तिम दिनको कारोबार बिहीबार १३.४२ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको थियो भने बजार पूँजीकरण ४३ खर्ब रुपैयाँभन्दा बढी कायम भएको छ ।

साताको कारोबार
यस साता नेप्सेमा शेयर कारोबार रकममा पनि अघिल्लो साताको तुलनामा केही गिरावट आएको छ । साताभर औसत कारोबार रकम दैनिक १२ अर्ब रुपैयाँभन्दा बढी नै भएको छ । मङ्गलबार सबैभन्दा बढी १६.१२ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको छ । बुधबार भने साताकै न्यून १२.०९ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको छ । यस साता दैनिक औसतमा १३.८८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो हप्ता नेप्सेमा एकै दिन २२ अर्ब सम्मको शेयर कारोबार भएको थियो ।

कस्तो भयो समुहगत सूचक ?
यस सता सूचीकृत अधिकांश समूहमा करेक्सन आएको छ । लगानी समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । यो समूह ६.३०% ले घटेको छ । त्यसपछि, उत्पादनमूलक समूह ४.४१% र जीवन बीमा समूह ३.४९% ले घटेको छ । फाइनान्स समूहमा भने ४.५८% वृद्धि भएको छ ।

कसले कमाए कसले गुमाए ?
साताभरिको कारोबारको आधारमा जीवन विकास लघुवित्तको शेयर भाउ सबैभन्दा बढी ३३.१०% ले वृद्धि भएको छ । अघिल्लो साता पनि राम्रो कमाउने कम्पनीकोरुपमा चिनिएको जीवन विकासको शेयर साताभर सर्किट लेभलमा कारोबार भएको छ । दोस्रो स्थानमा नारायणी डेभलपमेन्ट बैंकको शेयर भाउ १२.७६% ले वृद्धि भएको छ । तेस्रोमा आइसीएफसी फाइनान्सको भाउ १०.०६% ले बढेको छ ।
यस साता जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को भाउमा उच्च अङ्कको गिरावट देखिएको छ । यस कम्पनीको शेयर मूल्य १२.९६% ले घटेको छ । त्यसपछि सिनर्जी पावरको ११.९१% र खानिखोला हाइड्रोपावरको १०.८८% ले शेयर भाउ घटेको छ ।