इटहरीः शेयर धितो लिएर पुनः शेयर नै खरिद गर्ने र डुब्न सक्ने अवस्था आउन थालेपछि शेयर धितो कर्जाको सीमा घटाउनु परेको राष्ट्र बैँकले स्पष्ट पारेको छ ।

 आफूसँग भएको शेयरधनी प्रमाणपत्रलाई धितोमा राखेर व्यवसाय गर्न तथा आफ्नो आवश्यकता टार्नको लागि शेयर धितो कर्जाको प्रावधान राखिएको भएता पनि शेयर प्रमाणपत्रको आधारमा ऋण लिने र फेरि शेयरमै लगानी गर्ने प्रवृत्तिको नियन्त्रण गर्न मार्जिन ४ करोडमा राखेको गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका हुन् । नेपाल आर्थिक पत्रकार समाज सेजनका पदाधिकारीसँग कुरा गर्दै शुक्रबार गभर्नर अधिकारीले धितो कर्जामा रिसाइकल भएकोले उक्त कर्जामा केही कडाइ गर्नुपरेको बताए । उनले कुनै कम्पनीको शेयर धितो राखेर ४ करोड कर्जा लिने, पुनः त्यसको शेयर किन्ने र धितोमा राखेर ७० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ कर्जा लिने, पुनः त्यो शेयरमै लगाउने र ७० प्रतिशत कर्जा लिने प्रवृत्ति मौलाएकाले मार्जिक तोक्नैपर्ने अवस्था आएको र यसले बैंकहरुलाई सजिलो बनाएको बताए । सीमा नतोक्ने हो भने यसले पछि विकराल स्थिति आउनसक्नेतर्फ गर्भनरले इङ्गित गरे ।

४ करोड कर्जाको सीमा सानो नभएको अधिकारीको टिप्पणी थियो । साना लगानीकर्ताले शेयर प्रमाणपत्र धितो राखेर व्यवसाय गर्नको लागि अहिलेको नीतिले कुनै अप्ठ्यारो नपर्ने उनले प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र राखेर लिइने ऋणको सीमा एक व्यक्ति तथा संस्थाले एक वित्तीय संस्थाबाट धेरैमा ४ करोड र सम्पूर्ण वित्तीय संस्थाबाट धेरैमा १२ करोड रुपैयाँसम्म मात्र लिन सकिने गरी मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिमा राखिएको यो व्यवस्थाले शेयर बजारलाई प्रभावित पार्न खोजेको भन्दै लगानीकर्ताका नेताहरुले राष्ट्र बैंकसँग असन्तुष्टि पोखेका थिए । उनीहरुले अर्थमन्त्रीलाई समेत भेटेर मौद्रिक नीतिमा परिमार्जन गर्न आग्रह गरेका थिए । यसैगरी, उनले बजारमा अहिले चाहिनेभन्दा ३३ अर्ब बढी तरलता रहँदासमेत तरलता अभाव भयो भन्न नहुने बताए । अहिले तरलता पर्याप्त रहेको गभर्नर अधिकारीको भनाइ थियो ।