अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको बताएका छन् । यस बारेमा सैनिक कमाण्डरहरूले आफूलाई बताएको उनले बताए । उद्धार कार्य सुरु भएयता अबको केही दिन निकै जोखिमपूर्ण रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् । अगस्ट ३१ मा उद्धारकार्यको समयसीमा सकिँदै छ ।

बिहीबार भएको आत्मघाती आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्य जारी राखेको छ । युके, इटलीलगायत अन्य देशले भने काबुल छोडिसकेका छन् । बिहीबार भएको आत्मघाती आक्रमणमा झण्डै १७० जनाले ज्यान गुमाएका थिए । आईएस–के ले आक्रमणको जिम्मेवारी लिएको थियो ।

बदलामा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको नान्गहार प्रान्तमा ड्रोन आक्रमण गरी आईएस–के का दुई उच्च पदस्थ सदस्यहरूलाई मारिदिएको थियो । उनीहरूलाई बिहीबार भएको आक्रमणको योजनाकारका रूपमा लिइएको छ । आत्मघाती आक्रमणमा संलग्नलाई खोजेरै छोड्ने भन्दै राष्ट्रपति बाइडनले त्यो नै अन्तिम आक्रमण नभएको बताएका छन् । तर, अमेरिकाले आफूहरूसँग परामर्श नगरेको भन्दै तालिबानले भने अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

आईएस–के अफगानिस्तानको जिहादिस्ट समूहहरूमध्ये चरम अतिवादी र हिंसात्मक समूह हो, जसको देशका अधिकांश भूभाग नियन्त्रणमा लिएको तालिबानसँग प्रमुख भिन्नता रहेको छ । उसले तालिबानले युद्ध मैदान छोडर अमेरिकीसँग शान्ति वार्ताको पक्षमा गएको आरोप लगाएको छ ।

तालिबानले सत्ता कब्जा गरेपछिका दुई हप्तामा अफगान र विदेशी नागरिकसहित १ लाख १० हजारभन्दा बढी मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । -बीबीसीबाट