इटहरीः नेपाल राष्ट्र बैंकले सन् २०२२ को अप्रिल महिनामा राष्ट्रिय स्तरको आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी सम्मेलन गर्ने भएको छ ।

सम्मेलन हुने निश्चित मिति नतोकिएको भएता पनि सम्मेलन काठमाडाँैमा हुने निश्चित भएको राष्ट्र बैंकले जनाएको छ । नेपालको केन्द्रिय बैंकको रुपमा रहेको राष्ट्र बैंकले कोभिड १९ ले पारेको प्रभाव र यसको निरुपण साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन नीति निर्माता, अर्थ र वित्तीय क्षेत्रका विज्ञ र खोजकर्तालाई एकै ठाउँमा उभ्याएर राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागेको हो । यस सम्मेलनमा सहभागी हुनको लागि केन्द्रीय बैंकले पेपर पेस गर्न सन् २०२१ को डिसेम्बर महिनासम्मको मिति सार्वजनिक गरेको छ ।

 सम्मेलनमा मौद्रिक नीति, नेपालमा डिजिटल मुद्रा, डिजिटल अर्थतन्त्र, इ कमर्स तथा डिजिटल भुक्तानी प्रणालीका साथै वैदेशिक मुद्राको विनिमय, अन्तर्राष्ट्रिय अभ्यासका साथै नेपालमा गर्न सकिनेबारे सम्भाव्यता अध्ययन, अनुसन्धान र प्रतिवेदनहरु पेस गरिने राष्ट्र बैंकले प्रष्ट पारेको छ । सम्मेलनको लागि सन् २०२२ को फेब्रुअरी २१ देखि २८ सम्म दर्ता सम्पन्न गरी अप्रिल महिनामा सम्मेलनको आयोजना गरिनेछ ।

Screenshot 2021-08-29 125702