इटहरीः साताको पहिलो कारोबार भएको शेयर बजारमा आइतबार गिरावट आएको छ ।

फाइनान्सबाहेक सबै समूहका समूहगत परिसूचक तल झरेपछि समग्र नेप्से परिसूचक ४९.१८ अङ्कले घटेर ३०४४.८७ विन्दु कायम भएको छ । कारोबारको हिसाबले हेर्ने हो भने यसलाई सन्तोषजनक नै मान्नुपर्छ । आइतबार १५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएका छन । त्यसैले पनि कारोबार रकम औसतमा ठीकै मनिएको छ । यो दिन २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको छ ।

नेप्से ३२ सय विन्दुभन्दा माथि गएपछि बिस्तारै झर्नुलाइ स्वभाविक प्रक्रियाका रुपमै लिइएको छ । बजारमा चलखेल गरी शेयरमा लगानी गर्नेले शेयर धितो कर्जा घटेपछि किन्न छोडेको बताइन्छ ।
शेयर धितो कर्जामा गरिएको कडाइले साना लगानीकर्ताहरुलाइ राम्रो प्रभाव पार्ने केन्द्रीय बैंकको बुझाइ छ । यस व्यवस्थाबाट अब बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझौला व्यवसायीलाई सहज प्रक्रियाबाट कर्जा दिने विश्वास गरिएको छ ।

आइतबारको कारोबारमा २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोपावर समूह सबैभन्दा बढी घटेको छ । १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी कारोबारसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः अरुण काबेली हाइड्रोपावर र जीवन विकास लघुवित्त परेका छन् ।