दशैंको टीकाको भोलिपल्ट बिहान खनारको चिया दोकानमा सन्तोष, ईश्वर र म दशैं गफमा थियौं । ईश्वरले बिनाप्रसङ्ग सिक्किम घुम्न जाने प्रस्ताव ल्याए । मैले त्यहीँबाट रोहितलाई फोन गरेर सिक्किम घुम्न जाने कुरा सुनाएँ । एकाएक भोलिपल्टै सिक्किम जाने योजना बन्यो ।
दशैंको टीकाको पर्सिपल्ट बिहान म, रोहित र रबिन परिवारसहित सिक्किमको यात्रामा निस्क्यौं । सिक्किम जान प्रस्ताव गर्ने ईश्वर भने यात्राका साथी भएनन् । ३ परिवारको ९ जनाको टोली इटहरीबाट बिहान ७ बजे सार्वजनिक बस चढेर सिक्किमको यात्रामा निस्कियो ।
इटहरीबाट करीब २ सय ५० किलोमिटर पर रहेको भारतकै प्रमुख पर्यटकीय ठाउँमध्येको एक सिक्किम मेरो लागि नयाँ ठाउँ थियो । सात समुद्र पार गरेर देश विदेश घुमेको रोहितका लागि पनि ‘नजिकको तीर्थ हेला’ भने झंै सिक्किम नयाँ नै रहेछ । हाम्रो टिममा सिक्किम आएगएको जान्नेसुन्ने रबिनमात्रै ।
गाडीका सबै कर्मचारीले कम्पनीको ड्रेस लगाएको, फोहोर राख्न गाडीभित्रै डस्बिन भएको, सिटमा मात्र मान्छे बोकेको, सिसी क्यामेरा जडान भएको, सफा चिटिक्क परेको सार्वजनिक बस, सूर्य उदाएतर्फ हुइँकियो ।
म, रोहित र रबिन बसको पछाडिको सिटमा एकै ठाउँमा बस्यौं । बसको अगाडि राखिएको मोनिटरमा आउँदै गरेको अघिल्लो स्टेसनको जानकारी आइरहेको थियो । सिट सङ्ख्या जति मात्र यात्रु बोकेको, तोकिएको स्टेसनमा मात्र रोकिने, भाडामा कतै बार्गेनिङ नगरी तोकिएको भाडा लिइरहेको सार्वजनिक बसमा थियौं हामी । थोत्रा बस, कोचाकोच यात्रु, मनरी भडा खेप्न बानी परेर होला यत्तिको सुविधा पाउँदा हामी दङ्ग थियौं ।
पूूर्वी नेपालमा पछिल्लो समय नयाँ बस चल्तीमा छन् । पुराना गाडी विस्थापित भइरहेका छन् । परिवर्तनका लागि धेरै समय आवश्यक नहुने रहेछ भनेर यिनै बस र निजी क्षेत्रको प्रशंसा गर्दै हामी काकरभिट्टातर्फ जाँदै थियौं । सिक्किम आउजाउ गरेका रबिनलाई रोहितले कहाँकहाँ जाने कहाँ बस्ने सबै म्याप बनाउन आग्रह गरे । सिक्किमका भुक्तभोगी रबिनले ‘सब मेरो काम हो । ढुक्कले बस्नुस्’ भनिदिए ।
काकरभिट्टाबाट सिक्किम जानका लागि एउटा ट्राभल एजेन्सीमार्फत् रबिनले एउटा गाडीको बन्दोबस्त गरेका रहेछन् । तर, त्यो गाडीका लागि हामीले त्यहाँ २ घण्टा पर्खनुपर्ने भयो । हामीले २ घण्टा पर्खनुभन्दा अर्को गाडी लिएर जानु उपयुक्त ठान्यौँ । भारु ६ हजारमा एउटा गाडीले हामीलाई सिक्किमको गान्तोक पु¥याइदिने भयो । २ जना बच्चासहित हामी ९ जना गाडी चढ्यौं । जब नेपालको बोर्डर पार गरेर भारत पुगियो तब गाडीका चालकले भने ‘गान्तोक पुगुन्जेलमा म एक ठाउँमा मात्र गाडी रोक्छु । भन्नुस् कहाँ रोक्ने हो ?’
‘हामी त घुम्न हिँडेको । राम्रो ठाउँमा रोकिन्छाँै, हेर्छौँ, फोटो खिच्छाँै । भोक लागेको ठाउँमा खान्छौँ । हतार गर्दैनाँै ।’
चालकले रुखो स्वरमा फटाफट भने, ‘फेरि म काकरभिट्टा नै आउनु छ । १० बजे बोर्डर सिल हुन्छ । तपाईंहरु ढिलो गर्नुहुन्छ भने मलाई २ दिनको भाडा दिनुपर्छ ।’
चालकको कुरा सुनेर हामी मनमनै रिसायाँै । गाडी चेन्ज गर्ने कि भन्ने पनि सोच्यौं । तर, केटाकेटी बुढाबुढी छन् कति पटक चढ्ने, ओर्लिने गर्नु जाऔं भन्ने सोचेर त्यही गाडीमा अघि बढ्यौं । टिष्टा किनारमा लगेर चालकले गाडी रोके । हामी आधा जति भेजिटेरियन थियौँ । तर त्यहाँ कुनै होटल भेजिटेरिएन पाइएन । कपको मेघीमा तातोपानी हालेर खाइयो ।
करिब २ किलोमिटर जति अघि बढेपछि याद भयो रबिनको ज्याकेट त्यही होटलमा छुटेछ ।
गाडी चालकलाई निकै महङ्गो ज्याकेट छुट्यो फर्केर लिन जाऔं भनेको मान्दै मानेनन् । नमानेपछि हामीले ती चालकलाई फर्कँदा ज्याकेट राखिदिनू भनिदिनुस् है त भनेर अनुरोध ग¥यौं । चालकले हुन्छ भन्ने शैलीमा टाउको हल्लाए । हामी अघि बढ्यौं ।
सफा चिटिक्क परेको विकसित सिक्किम हेर्ने रहरले दौडेका हामी झमक्क साँझ परेपछि गान्तोकको देउराली बजार पुग्यौं । रबिनले क्यासिनो सिक्किम अगाडी पु¥याइदिन आग्रह गरे । तर, चालक मान्दै मानेनन् । निकै अनुरोध गरेपछि चालकले क्यासिनो सिक्किमसम्म पु¥याइदिए । क्यासिनो सिक्किम नजिकैको होटलमा रबिन पहिले पनि बस्ने गरेका रहेछन् । हामी त्यही होटलमा गयौं । काउण्टरमा गएर रोहितले रुमको कुरा गरे । होटलवालाले रुमको बारेमा जवाफ नै नदिई क्यासिनो आउनु भएको हो भनेर प्रतिप्रश्न गरे । मैले भनेँ, ‘होइन ।’ होटलवाला बोल्नै छाडे । क्यासिनो जाने त्यहाँ बस्दा रहेछन् क्यारे । हामी अर्को होटल जाने सोचमा पुग्यौँ ।
बल्ल होटलवालाले सहयोगीलाई रुम देखाइदेऊ भनेर अह्राए । रुम हेरेपछि हामीले चार्ज कति हो भनेर सोध्यौँ । उनले भारु ३ हजार भने । अरु बोल्दै बोलेनन् । त्यही होटलमा बस्ने योजनामा गएका हामीलाई होटलवालाको व्यवहार देखेर त्यहाँ बस्नै मन लागेन । हामी देउराली बजार नै फक्र्याैं । त्यहाँ एउटा राम्रै होटलमा पुगिएछ । रुम हेर्यौं राम्रो लाग्यो । रेट सोध्यौँ भारु २ हजार ५ सय । हामी त्यहीँ बास बस्यौं ।
हामी इन्टरनेटको लतमा फसिसकेका रहेछौं । तर होटलमा इन्टरनेटको सामान्य सुविधा पनि रहेनछ । बाथरुममा सामान्य चप्पल, तौलिया र सानो साबुनको टुक्रा पनि रहेनछ । रुम बुक गर्दा केही काम परे ३०० नम्बरमा फोन गर्नु भनेको थियो । फोन ग¥यो, उठाउँदै नउठाउने । काउण्टरमा पुग्दा अघि नै चेन गेट लागेको रहेछ । बिहान ६ बजेसम्म चेन गेट खुलेन । गेट खुलेपछि काउण्टरमै गएर मैले कम्प्लेन गरेँ ।
उसले हलुका जवाफ दियो, ‘आज मज्जाले निदाइएछ दाइ ।’ भारु २ हजार ५ सय तिर्दा पनि इटहरीमा नेपाली १ हजार रुपैयाँमा पाइने रुमको जति सुविधा नपाउँदा र होटलवालाको बोलीचाली देखेर बेकार आइएछ भन्ने निष्कर्षमा म पुगें । बिहानै हामी नजिकैको अर्को होटलमा सर्यौं । त्यो होटलको काउण्टरमै होटल मालिक रहेछन् । उनले हामीलाई साइड सिनका लागि गाडी पनि व्यवस्था गरिदिए ।
‘गाडी दिनभरिका लागि हो लानुस् । उसले १० वटा प्वाइण्ट घुमाउँछ । अन्त कतै जाने भए पनि जान सक्नुहुन्छ । एउटा गाडीको दिनभरिको भाडा भारु पैंतीस सय दिनू ।’
हामी यही शर्तमा २ वटा गाडी लिएर ९ जनाको टिम सिक्किमको साइड सिनमा निस्कियौँ । गान्तोकबाट केही तल एउटा वाटर फल्स भन्ने ठाउँ रहेछ, सानो झरना । घरछेउको त्यस्तो सुन्दर नमस्ते झरना हेरेको मलाई त्यो त बेकार लाग्यो । तर त्यहाँका स्थानीय र सरकारले त्यति सामान्य ठाउँलाई त्यस्तो महत्व दिएर प्रमोसन गरेको देख्दा हामीले केही गर्न नसकेको महसुस भयो । त्यहाँ भारु ५० तिरेपछि स्थानीय पोशाक लगाउन पाइने रहेछ । त्यहाँ जानेले त्यही पोशाक लगाएर फोटो खिचाउँदा रहेछन् । हामीले पनि त्यही गर्यौं ।
संयोग कस्तो भएछ भने बच्चाले लगाएको पोशाक घिस्रिएछ र केमा अड्केर अलिकति च्यातिएछ पनि । हामीले सरी भन्यौँ । तर, उसले मानेन । पुरै कपडाको पैसा तिराउन खोज्दै थियो हामीले थप भारु ५० दियौँ र सरी भनेर हिसाब मिलायौँ ।
स–साना वस्तु तर हेर्दा मन भुलिने गरी धेरै चीज बनाएको रहेछ सानो ठाउँमा । केटाकेटीसँग हामीले केही ढिला गर्यौं । पार्किङमा आएर गाडी चढ्यौँ । चालकले भने, ‘छिटो छिटो गर्नु है ६ बजेपछि अर्को दिनको भाडा लाग्छ । अघिल्लो दिन नै गाडी चालकबाट हैरान भएका हामी भोलिपल्ट फेरि उही कुरा शुरु हुँदा तर्सियौं । अब नजिक छ प्वाइण्ट भन्दै टावर हराउँदै गयो । हाम्रा लागि ती अति नै सामान्य ठाउँ थिए । मैले भने यस्ता १० ठाउँ हामीलाई लानु पर्दैन । यी १० ठाउँमध्ये सबैभन्दा राम्रा ३ वटा ठाउँ मात्र लानु हामीलाई । उसले खुशी हुँदै हुन्छ भन्यो ।
उसले हामी बसेको होटल नजिकैको गुम्बा लग्यो । हामी केहीबेर अल्मलियाैँ । त्यसपछि नजिकै म्युजियम रहेछ त्यहा गयौँ । गान्तोक बजार हेर्नका लागि रोपवे रहेछ, हे¥यौं । यिनै ठाउँ हेरेर हामी पार्किङमा आयौँ । अब अर्को गन्तव्यमा जाने गरी हामी गाडी चढ्यौं । तर चालकले भने, ‘घुम्ने ठाउँ सकियो ।’
मैले भनेँ, ‘मुख्य ३ ठाउँ जाने भनेको भर्खर एक ठाउँ आइयो ।’ उसले जवाफ फर्कायो, ‘गुम्बा हेर्नुभो, म्युजियम हेर्नुभो र रोपवे हेर्नुभो, ३ ठाउँ भएन ?’ हामी त छक्क पर्यौँ । १ ठाउँमा गाडी रोकेर तीनतिर आँैला देखाएपछि सिक्किममा ३ वटा प्वाइण्ट हुँदो रहेछ ।
भारतकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिने सिक्किमका होटलवाला र सवारी चालकको व्यवहार देखेर म अकमक्क भएँ । पैदल हिँड्दै होटल आएँ । त्यो पहाडको शहर कस्तो न सफा होला भनेको साँघुरो सडक, धुलो र जाम देखेर नमज्जा लाग्यो । सिक्किमको मूल समस्या नै पार्किङ रहेछ । त्यहाँको सरकारले सक्नेसम्म त प्रयास गरेकै रहेछ तर व्यवस्थापन हुनै नसकेको ।
त्यहाँको आम्दानीको एउटा स्रोत नै पर्यटन हो तर पर्यटकको सिधा सम्पर्क हुने यातायात र होटलमै अतिथि सत्कार नहुनु अर्को दुखद पक्ष लाग्यो । होटलमा आएर होटलका साहुलाई मैले यही कुरा सुनाएँ । होटल साहु रिटायर्ड प्रोफेसर रहेछन् । उनलाई मैले भेडेटारदेखि पोखरा, मुस्ताङ र सोलुखुम्बुको बयान गरें । उनले आफ्ना ठाउँका कमजोरी स्वीकारे र नेपाल आउने इच्छा व्यक्त गरे ।
साँझमा हामी गान्तोकको एमजी रोड (गान्धी मार्ग) गयौँ । काठमाडांैको दरबार मार्गजस्तै जस्तै रहेछ । त्यहाँ कुनै पनि किसिमको सवारी लान नपाइने रहेछ । सफा, धुलोरहित, साँझमा बत्तीको झिलिमिलीले निकै सुन्दर । सिक्किम घुम्न जाने त्यहीँ गएर फोटो खिच्ने र रमाउने गर्दा रहेछन् । त्यो बाहेक गान्तोकको अर्को राम्रो ठाउँ मेरो आँखामा परेन ।
जुवा खेल्न होइन खेलेको हेर्न क्यासिनो जाने रहर थियो । क्यासिनोमा खास के हुन्छ भन्ने जान्न खुब मन थियो । त्यो रात क्यासिनो सिक्किम जाने अवसर पनि मिल्यो । क्यासिनोभित्रको कथा अर्को पाटो हुने नै भयो ।
दशैंको बेला घुम्न निस्किएका हामी गलत गन्तव्य र बिनायोजना हिँडेर पनि खासै रमाउन सकेनौं । हामीले यात्रा छोट्याउने निधो ग¥यौं । त्यही होटलमार्फत् एउटा गाडी लिएर हामी दार्जीलिङतर्फ लाग्यौं । जाँदा बाटोमा खाना खाएको ठाउँमा छोडिएको ज्याकेट लिनु थियो । त्यही होटलमा रोकियौँ र ज्याकेटको कुरा ग¥यौं । ज्याकेट त उही हामीलाइ सिक्किम लाने गाडीको ड्राइभरले नै लगेछ । जसरी पनि ज्याकेट ल्याइदिनु भनेको छ भनेर त्यो ड्राइभरले आधा घण्टा पर्खेर ज्याकेट लगेछ । रुन्चे हाँसोजस्तै भयो । हरेक ठाउँमा मानिस यसरी ठगिइरहेका छन् र पनि मानिस ‘सिक्किम सिक्किम’ भनेर गइरहेका छन् ।
सिक्किममा धेरै राम्रा ठाउँ पनि होला जहाँ हामी पुगेनौँ होला तर हामी जहाँ पुग्यौँ त्यहाँको आतिथ्य सत्कार पटक्कै राम्रो थिएन । यति कमजोर आतिथ्य सत्कार हँुदा पनि उनीहरूले आफ्नो सानो ठाउँलाई प्रचार गर्नाले उनीहरू अगाडि भए ।
हामी भने हाम्रो यस्तो सुन्दर प्रकृतिको प्रचार गर्न नसकेर ‘झत्ते ठाउँ’ खोज्दै हिँडिरहेका छौँ । घरछेउको जेफाले डाँडा नपुगेका, सोलुको सुन्दरता नदेखेका, मुस्ताङको माटो नसँुघेका हामी सस्तो प्याकेजमा थाइल्याण्ड र दुबइ गएर फेसबुकमा फोटो हालेर पर्यटन प्रवद्र्धनको गफ चुटिरहेका छौँ । सिक्किम यात्राले हामीलाई यही सिकायो । हामीले सल्लाह ग¥र्यौं, ‘घुमफिर त गर्नैपर्छ तर पहिले देश घुमौं । सिक्किम चाहिँ अब नजाऔँ ।’