काठमाडौँः अफगानिस्तानबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता भएको छ । आतंकवादविरुद्ध लड्न भन्दै प्रवेश गरेको अमेरिका अफगानिस्तानमा २० वर्ष बस्यो । यो दुई दशकमा अमेरिकामा चारजना राष्ट्रपतिले सत्ता सम्हाले ।

राष्ट्रपतिहरू जर्ज डब्ल्यु बुस, बराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनले अफगानिस्तानमा अमेरिकी उपस्थितिको निगरानी गरे । बाइडेन अहिले सत्तामा नै छन् । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि राष्ट्रपति जर्ज डब्ल्यु बुसले अफगानिस्तानमा अमेरिकी सेना पठाएका थिए । सोही वर्षको अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धनले तालिबान र अल कायदाका अफगानिस्तानस्थित अखडाहरूमा आक्रमण गरी कारबाही सुरु गरेको थियो । बुसले २००१ देखि २००९ सम्म सत्ता सम्हाले ।

आफ्नो दुई कार्यकाल अफगानिस्तानको द्वन्द्व झेलेका राष्ट्रपति ओबामाले २००९ फेब्रुअरी ७ मा त्यहाँ थप सैनिकहरू पठाउन स्वीकृति दिएका थिए । उनको पालामा अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या एक लाख ४० हजारसम्म पुगेको थियो । २०१७ मा ओबामापछि अमेरिकी सत्ता सम्हालेका राष्ट्रपति ट्रम्पले भने अमेरिकीहरूलाई घर फर्काउने वाचा गरे । तालिबानहरूसँग सम्झौता गरे । उनको कार्यकालमा सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र तालिबानबीच अफगानिस्तानमा ‘शान्ति ल्याउन सम्झौता’मा हस्ताक्षर भयो । तालिबान लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता गरेका थिए ।

ट्रम्पको कार्यकालमा भएको सम्झौता कार्यान्वयन गर्ने समयमा भने बाइडेन आए । अघिल्ला राष्ट्रपतिले जस्तै दुई कार्यकाल सत्ता सम्हाल्न पाएको भए ट्रम्प आफैँले सो सम्झौता कार्यान्वयन गर्ने थिए । फौज फिर्तीको कार्यान्वयन र त्यहाँबाट ठूलो संख्यामा मानिसको उद्धार गर्ने जिम्मेवारी ट्रम्पलाई पराजित गरेका राष्ट्रपति बाइडेनको काँधमा आइप¥यो । राष्ट्रपति बाइडेनले गएको अप्रिलमा सेप्टेम्बर ११ भित्र अमेरिकी फौज फिर्ता गरिसक्ने घोषणा गरेका थिए । अन्ततः तालिबानसँग भएको समझदारीअनुसार अगस्ट ३१ मा अमेरिकी फौज स्वदेश फर्किएको छ ।

उता, अफगानिस्तानमा भने तालिबानको पतन र पुनरागमनको बीचमा दुई राष्ट्रपति बने । अगस्ट १५ मा तालिबानले सत्ताकब्जा गर्नुअघिसम्म अशरफ गनीले अफगान सत्ता सम्हालेका थिए । उनले झन्डै सात वर्ष सत्ता सम्हाले । त्यसअघि, २००१ मा तालिबान सत्ताच्युत भएपछि पटक–पटक गरी झन्डै १४ वर्ष हमिद कारजाईले शासन गरे । -बीबीसीबाट