इटहरीः तराईका थारु समुदायको मुख्य धार्मिकस्थलको रुपमा रहेको ग्रामथान सरकारी र भूमाफियाको अतिक्रमणको चपेटामा पर्दै गएका छन् । सम्बन्धित निकायले ध्यान नदिँदा सुनसरीका ५ सयभन्दा बढी ग्रामथान अतिक्रमणको चपेटमा परेको स्थानीय र संरक्षणमा लागेका अगुवाहरुले गुनासो गरेका छन् ।

प्रदेश १ मा विशेषतः झापा, मोरङ र सुनसरीमा अधिक मात्रामा थारु समुदायको बसोबास रहेको छ । यसै क्षेत्रका थारु समुदायका मानिस जन्मदेखि मृत्युपर्यन्त ग्रामथानमा नै जाने गरेका छन् । तर पछिल्लो समय तीन तहको सरकारको भौतिक विकास अनियन्त्रित रुपमा बढ्दै जाँदा थारु समुदाको ग्रामथान लोपोन्मुख बन्दै गएका हुन् । थारु सुमुदायका पाकाहरुका अनुसार अहिले सुनसरीमा साविकमा भएका भन्दा ६० प्रतिशत ग्रामथान अतिक्रमणको चपेटामा परेका छन् । ‘पहिले यो मेरो जग्गामा ग्रामथान राख्नु भन्दै सबैले दिन्थे । अहिले जग्गाको मूल्याङ्कन बढ्दै गयो’, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का एक स्थानीयले भने, ‘यसैले गर्दा ग्रामथान नजिकका सँधियारले मिच्न थाले ।’ यस्ता पौराणिक संरचनाको संरक्षणमा सरकारी निकायले ध्यान दिनुपर्ने उनले औँल्याएका छन् ।

सरकारी विकासले मात्र होइन, यस्ता ग्रामथानहरु सरकारी खाली जग्गा वा ऐलानी जग्गामा हुने हुँदा अहिले भूमाफियाको समेत आखाँ पुग्न थालेकाले यस्ता क्षेत्र संकटमा पर्दै जान थालेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा साँस्कृतिकस्थलहरुको संरक्षण स्थानीय सरकारले गर्ने भनी किटान गरिएपनि जनप्रतिनिध उदासिन बन्दा संरक्षणमा झन समस्या भएको संरक्षकहरु बताउँछन् । स्थानीय सरकारले आवश्यक ध्यान नदिँदा सुनसरीमा मात्र ३ सयभन्दा बढी ग्रामथान अतिक्रमणको चपेटामा परेको ग्रामथान संरक्षण समतिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीले बताए । ‘हामीसँग यकिन तथ्याङ्क त छैन । तर, हाम्रो बुझाइमा झण्डै ५ सयको हाराहारीका ग्रामथानहरु रहेका छन्’, ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष चौधरीले भने, ‘सतप्रतिशत त नभनौँ अधिकांश चाहिँ अतिक्रमणको चपेटामा परेका छन् ।’

यति मात्र होइन, स्थानीय सरकारको उदासिनताकै कारण ग्रामथान र यससँग जोडिएका अन्य संरचना र भौतिक सम्पत्ति पनि अतिक्रमणको चपेटमा परेको उनको आरोप छ । ‘ग्रामथान र ग्रामथानसँग जोडिएको गौचरण, पानी घट्ट, पोखरी र अन्य सम्पत्तिलाई चाहिँ स्थानीय सरकारले संरक्षण गर्न सक्छ’, अध्यक्ष चौधरीले भने, ‘तर, स्थानीय सकारले आफ्नो अधिकारमा भएको कुरा नै प्रयोग गरेको छैन । यसै कारण पनि ग्रामथानहरु लोप हुँदै गएका छन् ।’ केही जनप्रतिनिधिहरुले यसको संरक्षणमा चासो देखाए पनि अधिकांशले कानमा तेल हालेर बसेको उनको आरोप छ । केही स्थानीय पालिकाबाहेक सुनसरीका धेरै पालिकामा थारु समुदायकै जनप्रतिनिधिहरु भएपनि ग्रामथानको संरक्षणमा ध्यान नजानु दुःखद भएको उनले बताएका छन् ।

यता, स्थानीय सरकारले भने उनको कुरालाई खण्डन गर्दै आफूले सकेसम्म त्यस्ता क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्दै आएको दाबी गरेका छन् । ग्रामथानको क्षेत्राधिकार निक्र्योल गर्ने, जिर्ण भएकाको पुनर्निर्माण गर्ने र त्यसलाई संरक्षण गर्ने काममा आफूहरु लागिरहेको स्थानीय सरकारका जनप्रतिनिधिहरुको भनाइ छ । ‘हामी निर्वाचित भएर आएपछि संघले नै एउटा नीति ल्यायो । स्थानीय स्तरमा रहेका ग्राथानहरु, मठमन्दिरहरु संरक्षण गर्ने भनेर’, सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार चौधरीले भने, ‘सोही अनुरुप रामधुनी नगरपालिकाका विभिन्न ठाउँमा जिर्ण बन्दै गएका ग्रामथानहरुको जिर्णोद्धारमा हामी लाग्यौँ । बेलाबेलामा मर्मतसम्भारदेखि हामीले सकेसम्म त्यस्ता क्षेत्रको संरक्षणमा हामी लागिरहेका छौँ ।’ अहिले नगरका विभिन्न ठाउँमा रहेका ग्रामथानको जग्गा अधिग्रण गर्ने गुनासो आएकोले आफूहरु त्यसको निरुपणमा लागेको उनले बताएका छन् ।