संयुक्त राज्य अमेरिकाका शीर्ष सैन्य अधिकारीले तालिबानलाई ‘निर्दयी समूह’ भनेका छन् । जनरल मार्क मिलीले उनीहरू परिवर्तन हुन्छन् या हुँदैनन् भन्ने प्रष्ट नभएको बताए ।

यद्यपि, भविष्यमा आतंकवाद विरुद्धको लडाइँमा तालिबानसँग समन्वय गर्न सक्ने ‘सम्भावना’ रहेको उनको भनाइ छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त गरेर अमेरिकी फौजले अफगानिस्तान छोडेपछि रक्षामन्त्रीसँगै पहिलो पटक सार्वजनिक टिप्पणी गरेका जनरल मिलीले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस–के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने संकेत गरे । आईएस–के ले अमेरिकाले अफगानिस्तान छोड्नु केही दिन अघि काबुल विमानस्थलबाहिर आत्मघाती हमला गरेको थियो ।

त्यसमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको ज्यान गएको थियो । यद्यपि, पत्रकार सम्मेलनमा जनरल मिलीसँग सँगै रहेका रक्षामन्त्री लोयड अस्टिनले भविष्यमा हुनसक्ने साझेदारीबारे आफूले कुनै पनि भविष्यवाणी गर्न नचाहेको बताएका बीबीसीले जनाएको छ । तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मंगलबार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो । -बीबीसीबाट