इटहरीः इलाममा बढेको कोरोना संक्रमणका कारण रोकिएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण शेयर भोलिदेखि पुन बिक्री खुला गरिने भएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्न खोलिएको साधारण शेयरको बिक्री कार्य इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न लागु गरिएको निषेधाज्ञाका कारण स्थगित भएकोमा भदौ १८ गते देखि खुला गर्न लागिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेय एक सय रुपैयाँ अङ्कित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागिएको हो ।

निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ भने ढिलोमा असोज १७ गते हुनेछ । आईपीओमा नेपाल एसबीआई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।