इटहरीः आज भदौ १७ गतेसम्म शेयरधनी बने अपि पावर कम्पनीले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको लाभांश सुरक्षित गर्न सकिने भएको छ ।

भोलि भदौ १८ गते देखि साधारणसभा प्रयोजनका लागि बुक क्लोज गरिने भएकाले आजसम्म शेयरधनी हुने लगानीकर्ताले अपि पावरले दिने बोनसको भागीदार हुन पाउने भएको हुन । कम्पनीको सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश मा १०.५ प्रतिशत बोनस शेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्ताव छ । सोही बैठकले प्रस्तावित बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको २७५.८९ करोड रुपैयाँ हुनेछ । साधारणसभाबाट कम्पनीले हकप्रद शेयरसमेत जारी गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ ।

भदौ २५ गते १८ औँ वार्षिक साधारणसभा हुने र सोही सभाले लाभांश र बोनस शेयर जारीपछि कायम हुने चुक्तापूँजीको १ः०.३९३६ को अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने बताइएको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा आफ्नो हकप्रद शेयर बेचेर आएको लगानी थप गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ । जलविद्युत कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनमा कडाइ गरिएका कारण हकप्रद शेयरको निष्कासन गर्ने विद्युत नियामन आयोग, धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र हुने जानकारी प्रदेश पोर्टललाई आएको छ ।