इटहरीः हालै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनले शेयर धितो कर्जाको मार्जिन उच्चतम १२ करोड रुपैयाँ मात्र कायम भएपछि शेयर बजारमा चलखेल सुरु भएको छ ।

शेयर धितो कर्जाको सीमासम्बन्धी व्यवस्था आउनासाथ प्रभावित भएको शेयर बजार निरन्तर ओरालोमा छ भने लगानीकर्ताका नेताहरु अर्थ मन्त्रालयलाई प्रभावमा पार्न निरन्तर डेलिगेसनमा छन् । यसैगरी, बिहीबार पनि लगानीकर्ताका नेताहरु मौद्रिक नीतिले व्यवस्था गरेको शेयर धितो कर्जाको मार्जिनलाई हटाइदिन आग्रह गर्दै अर्थ मन्त्रालय पुगेका छन् । शेयर बजारसम्बन्धी चासो राख्ने संस्था नेपाल इन्भेस्टर्स फोरमको टोली उक्त व्यवस्था हटाउन माग गर्दै अर्थ मन्त्रालय पुगेको पाइएको छ । हालै जारी भएको मौद्रिक नीतिमा कुनै पनि एक व्यक्ति वा संस्थाले कुनै एउटा वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा मात्र लिन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको नेतृत्वमा गएको टोलीले आज अर्थमन्त्री जनार्दन शर्माका सल्लाहाकार सुरेन्द्रकुमार उप्रेतिलाई भेटी शेयर धितो कर्जाको सीमासम्बन्धी व्यवस्थालाई हटाउन आग्रह गरेका छन् । भेटमा अर्थ मन्त्रालयले शेयर बजारप्रतिको सकारात्मक दृष्टि रहेको र यसलाई बिग्रन नदिने प्रतिबद्धता गरेको बताइएको छ । अर्थ मन्त्रालय पुगेको इन्भेस्टर्स फोरमको टोलीमा निवर्तमान अध्यक्ष छोटेलाल रौनियार सहितका पदाधिकारी संलग्न छन् ।