अमेरिकाको उत्तर–पूर्वी भागमा आएको बाढी र आँधीबेहरीको चपेटामा परी ४१ जनाको मृत्यु भएको छ ।

केही मानिस बाढीको चपेटामा परेका छन् भने भवनहरूका सबैभन्दा मुनिको तलामा गाडी फसेका छन् । न्यूजर्सीमा कम्तीमा २३ जना, न्यूयोर्ककमा कम्तीमा १४ जान, फिलाडेल्फियामा ३ र पेन्सीलभेनियामा १ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । न्यूयोर्क र न्यूजर्सी राज्यमा ठूलो पानी परेको छ । मौसमविदहरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्ज पानी परेको न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले बताएका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्ष भएपछि त्यस्तो विपद् देखा परेको हो । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको संकटसँग जुध्नका लागि ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताएका छन् । अमेरिकाले देशैभरि जलवायुसम्बन्धी संकट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको बताएका छन् । समुद्री आँधीको आवृति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्ने अझै स्पष्ट छैन । तर, समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात टाइफून उत्पन्न गर्न शक्ति प्रदान गर्छ भन्ने निश्चित छ । औद्योगिक युग सुरु भएयता विश्वमा औसत १.२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ । -बीबीसीबाट