इटहरीः पछ्रिल्लो पटक बीमा कम्पनीको शेयर मूल्य उच्चतम रुपमा वृद्धि भइरहेको बेला अन्य ५ बीमा कम्पनीहरु आईपीओ जारी गर्ने तयारीमा छन् ।

पछिल्लो पटक सानिमा लाइफ, युनियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर जारी गरेकोमा सबै कम्पनीको शेयर दोस्रो बजारमा खरिदबिक्री हुन थालिसकेको छ । आईपीओ निष्कासनको तयारीमा रहेका ५ वटा जीवन बीमा कम्पनीहरुले पनि गत आर्थिक वर्षमा औसतमा राम्रो प्रदर्शन गरेको पाइएको छ । पछिल्लो पटक १० वटा नयाँ जीवन बीमा कम्पनीहरुले सञ्चालन अनुमति पाएकोमा ५ कम्पनीले आईपीओ जारी गरिसकेका छन् । बाँकी ५ वटाको भने आईपीओ निष्कासनको चरणमा रहेका छन् । साधारण सेयर अर्थात आईपिओ निष्कासनको चरणमा रहेका कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफले आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति मागिसकेका छन् भने बाँकी ३ कम्पनीले आफ्नो वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । यी ३ कम्पनीले शेयर निष्कासनको अनुमति नमागेपछि त्यो चरणमा रहेका छन् ।

 सिटिजन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी अन्य सबै कम्पनीहरुको तुलनामा बढी छ । यसको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ भने बाँकी सबै इन्स्योरेन्सको पूँजी भने १ अर्ब ४० करोड रुपैयाँ छ । सबै कम्पनीको चुक्ता पूँजी यथावत नै छ । चुक्ता पूँजी वृद्धि गर्न शेयर निष्कासन गर्नुपर्ने भएकोले यो स्थिर नै रहेको हो । लगानी गर्दा कुन कम्पनीको आर्थिक अवस्था कस्तो छ भनेर राम्रोसँग बुझेर मात्र लगानी गर्नुपर्ने भएकाले कम्पनीको बारेमा जान्नु अति नै महत्वपूर्ण हुन्छ । असार मसान्त सम्मको अवस्थालाई हेर्ने हो भने रिलायबल लाइफ इन्स्योरेन्सको रिजर्भ कोषमा सबैभन्दा धेरै ८४ करोड ३५ लाख रुपैयाँ रहेको छ । उता महालक्ष्मी इन्स्योरेन्स कम्पनीको रिजर्भ भने १२४.४७% ले वृद्धि भएको छ । आईपीओ निष्कासनकै चरणमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा सबैभन्दा धेरै ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा यसको जीवन बीमा कोषको आकार ११७.८३% वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको स्थिति हेर्ने हो भने सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आम्दानी सबैभन्दा धेरै ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ रहेको छ । सबैभन्दा धेरै वृद्धि भने रिलायबल लाइफको ८८.०१% रहेको छ । यी पाँच कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी इन्स्योरेन्सको आम्दानी रहेको छ । आईपीओ जारी गर्न चरणमा रहेका यी ५ कम्पनीमध्ये सन नेपाल लाइफको मात्र नाफा घटेको छ । बाँकी ४ वटै कम्पनीको नाफामा सामान्य वृद्धि भएको छ ।