इटहरीः नेपाली हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरुले पनि अफर र छुटको सुविधा प्रदान गर्न थालेका छन् । 

विशेषगरी हिन्दु नारीहरुले गहना र नयाँ सारी पहिरिने साथै एक दिन पूरै निराहार व्रत बसेर आफ्ना पति अथवा हुनेवाला जीवन साथीको दिर्घायुको कामना गर्ने परम्परागत तीजलाई बैंक तथा वित्तीय संस्थाले पनि अवसरको रुपमा लिएका हुन् । तीजको अवसरमा नारीहरुलाई लक्षित गर्दै नबिल बैंकले तीजको अवसरमा लकरको सुविधा लिन चाहने महिलालाई एक बर्षसम्म निःशुल्क लकर सुविधा दिने भएको छ । ‘तीज आयो बरी लै, गरगहना सुरक्षित राखौँ नबिलको लकरमै’ भन्ने नारासहित नबिल बैंकले तीज विशेष नारी लक्षित योजना सार्वजनिक गरेको हो । त्यसैगरी, ज्योति विकास बैंकले तीजको अवसरमा टिकटक तीज ट्रान्सफर्मेसन च्यालेन्ज नामक कार्यक्रम सार्वजनिक गरेको छ । 

ज्योतिले तीजको अवसरमा लगाएको पहिरनलाई आकर्षक तरिकाले भिडियो बनाएर ज्योति विकास बैंकको ज्योतिच्यालेन्ज, ह्यासट्याग ज्योतिविकासबैँक तथा एटदिरेटज्योतिविकासबैँक मा ट्याग गर्नुपर्ने र सबैभन्दा बढी लाइक भएको भिडियोलाई विजेता घोषणा गरिने बैंकले जनाएको छ । विजेतालाई ज्योति विकास बैंकले स्मार्टफोन दिने बताएको छ । त्यसैगरी, प्रभु बैंकको इन्भेस्टमेन्ट म्यानेजमेन्ट संस्था प्रभु क्यापिटलले पनि तीजको अवसरमा नारीहरुलाई लक्षित गर्दै प्रभु ऐश्वर्य योजना सार्वजनिक गरेको छ । ‘विमेन इम्पावरमेन्ट’ अर्थात् महिला शशक्तिकरणको लागि भन्दै सार्वजनिक गरेको यो योजनाबाट नारीहरुलाई लगानी गर्नको लागि सहयोग गर्ने र न्युनतम ३ लाखको लगानी गर्दा २० प्रतिशत लाभांश शेयर गर्ने प्रभु क्यापिटलले बताएको छ ।