धरानः धरान उपमहानगरपालिका अन्तर्गत धरान प्रज्ञा प्रतिष्ठानले ‘धरान नगरस्तरीय चित्रकला प्रदर्शनी’ मंसीर ३ गतेदेखि गर्ने भएको छ ।

धरान–१८ स्थित विमल स्मृति पुस्तकालयको सभा हलमा तीन दिनसम्म उक्त प्रदर्शनी हुने भएको हो । युवा कला केन्द्र पूर्वाञ्चलको सहयोगमा प्रतिष्ठानले गत असोज ६ गते भानुचोकमा ‘चित्रकला कार्यशाला’ गरेको थियो । सो कार्यशालामा २४ जना सहभागी थिए ।

उनीहरूले बनाएका २४ वटा चित्र प्रदर्शनीमा राखिने शनिबारको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य सचिव हर्कजीत लिम्बूले बताए । अन्य कलाकारको चित्र पनि प्रदर्शनमा राखिने उनले बताए । धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई जानकारी गराउनको लागि चित्रकला प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले बताए ।

सो प्रदर्शनीमा धरानका सांस्कृतिक, प्राकृतिक सौन्दर्य र सामाजिक विषयवस्तुहरू झल्काउने चित्र राखिने उनले बताए । सो प्रदर्शनी युवा कला केन्द्र पूर्वाञ्चलको सहकार्यमा हुने भएको हो ।