इटहरीः शेयर बजारका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक शेयर बजार घटाउन अग्रसर भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।

आफ्नो सम्पत्ति धितोमा राखेर क्षमता अनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो राखेर लिइने ऋण सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका बनेका हुन् । मौद्रिक नीति र त्यसपछिको एकीकृत निर्देशनमार्फत् राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँ मात्र शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएपछि ठूला लगानीकर्ताले निरन्तर यसको विरोध गर्दै आइरहेका छन् । यसअघि यस्तो सीमा तोकिएको नभएका कारण लगानीकर्ताको करोडौं रकमको ऋण बैंक तथा वित्तीय संस्थामा छ । राष्ट्र बैंकको निर्देशन बमोजिम हालको ऋणसमेत लगानीकर्ताले एक वर्षभित्रमा सीमामा ल्याइसक्नुपर्ने नियम छ ।

नयाँ नियम अनुसार अब शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँ मात्र ऋण लिन सकिनेछ । तथापि राष्ट्र बैंकले शेयर धितोमा राखेर शेयरमै लगानी गर्ने क्रम बढेकोले त्यसलाई निरुत्साहित गर्न लागिएको बताउँदै आएको छ । शेयर धितो राखेर व्यापारमा लगाउन यस नीतिले अप्ठ्यारो नपर्ने गभर्नर अधिकारीले हालै सार्वजनिक कार्यक्रममै भनेका थिए । राष्ट्र बैंकको यो व्यवस्थापछि बजार निरन्तर ओरालो लागिरहेको छ । बजारलाई नियोजित रुपमै ओरालो लगाइएको बताइँदै आएको छ । यसै व्यवस्थाको विरोधमा उत्रिएका लगानीकर्ताको समूहले निरन्तर आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन् । यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग अघि सारेको छ । गभर्नरका कारण लगानीकर्ताको लगानी जोखिममा परेको भन्दै उनीहरुले गभर्नरको राजीनामालाई प्राथमिकतामा राखेका छन् ।