धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले तीजको अवसरमा महिलाहरुलाई दर खुवाएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा तीज विशेष कार्यक्रम गरेर नाचगानसहित महिलाहरुलाई तीजको दर खुवाइएको हो ।

तीजमा माइत जान नपाउँने महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम गरेर तीजको दर खुवाइएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । सो अवसरमा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, महालक्ष्मी नगरका मेयर नेपाल, उप–मेयर मञ्जु अधिकारी लगायतले मन्तव्यमार्फत महिलाहरुलाई तीजको शुभकामना दिए ।

कार्यक्रममा वडा स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ । प्रतियोगितामा वडा नम्बर ५ प्रथम, वडा नम्बर ९ दोस्रो र वडा नम्बर ३ तेस्रो बनेको मेयर नेपालका सचिवालय प्रमुख विष्णु दाहालले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले तीज गीतमा नृत्य गरी कार्यक्रमको रौनकता बढाएका थिए । कार्यक्रमका अतिथिहरुले पनि तीज गीतमा नाचेका थिए ।

आगामी बिहिबार हरितालिका तीज पर्व परेको छ । तीज आउनु अघिदेखि नै विभिन्न कार्यक्रम गरेर महिलाहरुले तीज पर्व मनाउँदै आएका छन् ।

Mahalaxmi-Nagar-Teejko-Dar1 Mahalaxmi-Nagar-Teejko-Dar2