सङ्खुवासभाः सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले केही दिन अघि सय वटा नयाँ गन्तव्यको छनोट गरेर सार्वजनिक ग¥यो । सङ्खुवासभाका पनि दुई गन्तव्य सो सूचीमा परे ।

सरकारको सो सूचीमा सङ्खुवासभाका अरुण उपत्यका र वालेश्वर गुफा परे । तर सङ्खुवासभा जिल्लामा रहेका अन्य ३ वटा महत्वपूर्ण स्थान भने छुटेका छन् । सरकारको सूचीमा जिल्लाको धार्मिक तथा पर्यटकीय पोखरी सभापोखरी, गुफापोखरी र शिवधारा जस्ता पर्यटकीय गन्तव्य छुटेका छन् । ती स्थान सङ्खुवासभालाई परिचित गराउने मध्येका केही स्थान हुन् । तर पनि सरकारको आँखा त्यसतर्फ भने परेको छैन ।

सभापोखरी नाम सुन्नेबित्तिकै सबैको मनमा पर्छ, एकपटक पुग्नै पर्ने ठाउँ भनेर । सभापोखरीको नाम सुन्ने जो कोहीको मनमा पर्छ यो ठाउँमा पुग्नुपर्छ भनेर । फेरि सभापोखरीको इतिहास नै सुन्ने मान्छे त एकपटक जसरी पनि पुगेकै हुन्छन् ।

यता, सभापोखरीको जस्तै छाप छ गुफापोखरीको पनि । गुराँसको राजधानीको छेउमा अवस्थित गुफापोखरीको नाम सुन्ने जोकोही पनि पुग्नको लागि आतुर भइहाल्छन् । त्यस्तै, अर्को धार्मिक तथा पर्यटकीय गन्तव्य शिवधाराको पनि पर्यटन प्रवद्र्धन गर्नतर्फ सरकारको आँखा पुगेन ।

सभापोखरी, शिवधारा र गुफापोखरी सरकारको सय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चर्यजनक विषय हो । गत कात्तिक १५ गते सङ्घीय सरकारले देशभरका १ सय वटा नयाँ पर्यटकीय गन्तव्य स्थलको सूची सार्वजनिक गरेको थियो । सो सूचीमा स्थापित तथा सम्बद्र्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय स्थल छन् ।

तर, स्थापित र सम्बद्र्धन गर्नुपर्ने दुवै शीर्षकमा सभापोखरी, शिवधारा र गुफापोखरी अटाएनन् । जिल्लाको सभापोखरी गाउँपालिकामा सभापोखरी, मकालु गाउँपालिकामा शिवधारा र चैनपुर नगरपालिकामा गुफापोखरी पर्छन् । सभापोखरी समुद्र सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । गुफापोखरी करिब ३ हजार ५ सय मिटरको उचाइमा छ भने शिवधारा ४ हजार ६ सय मिटरको उचाइमा छ ।

savapokhari pradesh portal

सभापोखरीमा जनै पूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजन पुग्ने गरेका छन् । किंवदन्तीअनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । ‘वेदव्यासले सम्पूर्ण देवी देवताहरूलाई भेला गराएर पुराण भनेका थिए’ । देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ । गुफापोखरी क्षेत्रबाट मकालु, कञ्चनजङ्घासहितका हिमालहरूको अवलोकन गर्न सकिन्छ भने ती शिखरहरूको छाया गुफापोखरीमा प्रष्ट देख्नसमेत सकिन्छ ।

सोही क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका लालीगुराँससमेत अवलोकन गर्न सकिन्छ । यसरी प्रर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारको पर्यटकीय गन्तव्यको सूचीमा भने त्यो पोखरी पर्न नसकेकोप्रति स्थानीय मनबहादुर लिम्बूले दुखेसो गरे ।

शिवधाराको किंवदन्ती हेर्ने हो भने भगवान शिवले नुहाएको भन्ने इतिहास भेटिन्छ । त्यसको साथै भगवान शिव र पार्वतीको क्रीडास्थल समेत रहेको किंवदन्ती पाइन्छ । सन्तान नहुनेले त्यस धारामा विभिन्न सामग्री चढाउने पनि गरेका छन् । यसो गर्दा सन्तान हुने विश्वास गरिन्छ ।

सो ठाउँमा भगवान गणेशको प्राकृतिक मूर्ति स्पष्ट देख्न सकिन्छ भने महिला तथा पुरुषको यौनाङ्गका प्राकृतिक चित्रहरू पनि स्पष्ट देख्न सकिन्छ । यस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र सङ्खुवासभामा त्यति मात्रै होइनन् । अन्य थुप्रै गुफा, पोखरी, पहाडलगायतका प्रचुर पर्यटनका सम्भावना भएका स्थान रहेका छन् ।

ख्याति कमाएका र पर्यटकहरूलाई आकर्षित गर्न सक्ने स्थलहरू नै सरकारको नजरमा पर्न नसकेकोमा स्थानीय चिन्तित छन् । पर्यटकीय गन्तव्यमा सरकारले सभापोखरी, गुफापोखरी र शिवधारालाई नसमेट्दा पत्रकार गंगा विष्ट पनि चकित र दुःखी छन् । उनी भन्छन्, ‘सङ्खुवासभामा मुख्य पर्यटकीय स्थल हुँदाहुँदै पनि सरकारले चिन्न सकेन, यो सरकारको अनभिज्ञता हो ।’