इटहरीः माथिबाट सडकमार्ग हुँदै चारपाङ्ग्रे गाडीहरू आउँछन् । तलबाट, सप्तकोशी र अरुण हुँदै जेटबोट आउँछन् । यसरी जलमार्ग र स्थलमार्गको ट्रान्जिट स्थल बनेको छ दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिकाको दक्षिणी क्षेत्र हलेदे । ट्रान्जिट बनेपछि यो क्षेत्रमा आउजाउ गर्नेहरू बढेको स्थानीय बताउँछन् ।

कुनैबेला गुमनाम दक्षिणी भोजपुरको हलेदेमा यस वर्षबाट चहलपहल बढेको छ । सप्तकोशीमा जेट बोट चलेपछि घुम्न आउनेहरू र भोजपुरको घोडेटार हुँदै भोजपुर बजार पुग्ने सडकमा चहलपहल बढेसँगै हलेदेको चहलपहल बढेको स्थानीय बताउँछन् ।

हलेदेमा रहेको अरुण किनारमा टहरो बनाएर चिया पसल सञ्चालन गर्ने स्थानीय मिलन राई जेटबोटले चहलपहल बढाएको बताउँछिन् । आफ्नै बारीमा पसल चलाउन थालेकी राई भन्छिन् ‘सडक बढेपछि पनि चहलपहल बढेको थियो । जेटबोट सञ्चालनले झनै बढायो ।’

halede news  (3) pradesh portal

वराहक्षेत्रसम्म हलेदेबाट छिटो हिँड्नेलाई २ घण्टा लाग्छ । सो बाटो जेटबोट सञ्चालनले २० मिनेटमा खुम्चिएको छ । यसले भोजपुरबाट तराई ओर्लनेलाई सजिलो भएकै छ । तराईबाट जलमार्गमा यात्रा गरेर आउने पर्यटकहरू बढेका छन् ।

हलेदे–घोडेटार–भोजपुर बजार ६ घण्टाको सडकमा सवारी सञ्चालन गर्न पनि जेटबोटले सजिलो बनाएको छ । ५ वर्ष अगाडि नै मचुवादेखि भोजपुर सदरमुकामसम्म सवारी चले पनि जेटबोट बनेपछि मात्रै हलेदेसम्म सवारी चलेको सवारी चालक विमल बान्तवा बताउँछन् । उनी भन्छन्,‘यहाँ सडक बनेको र सवारी चलेको ५ वर्ष पुग्न लाग्यो । हलेदेमा चैँ जेटबोट चलेपछि गाडीहरू आउन थालेका छन् ।’

बाह्रै महिना जेटबोट चले सहज
हलेदेबाट २० मिनेटमा सुनसरीको वराहक्षेत्र पुग्न सकिन्छ । बर्खाको समयमा बाढीले जेटबोट बन्द हुँदा भने यो बाटोमा चहलपहल हुँदैन । यात्रुहरू मझुवामा ओर्लेर पैदल यात्रा गर्दै अक्करे बाटो भएर वराहक्षेत्र सम्म पुग्छन । र, वराहक्षेत्रबाट सीमित सङ्ख्याका भाडाका सवारी चढेर पूर्वी तराई पुग्छन् ।

हलेदेमा हुने यो चहलपहल बाह्रै महिना पु¥याउन कि हलेदेबाट सुनसरी वा उदयपुरसम्म चुस्त सडक कि बाह्रै महिना जेटबोट सञ्चालन हुनुपर्ने स्थानीयको भनाइ छ । ‘बर्सौं पिछडिएको हलेदेमा तराई जान पनि बर्खामा असजिलो छ । सदरमुकाम जान पनि धेरै टाढा छ । जेटबोट र सडकले सजिलो गरेको छ’, स्थानीय कमल राई भन्छन्, ‘यो जेटबोट र मोटरबाटोको यात्रा केही महिना मात्रै होइन बाह्रै महिना सञ्चालन हुने बनाउनुपर्छ ।’