इटहरीः सुनसरीको इटहरीमा पछिल्लो समय क्षमताभन्दा बढी इ–रिक्सा (सिटी सफारी) सञ्चालनमा आएको पाइएको छ ।

यसरी राजमार्गमा क्षमताभन्दा बढी इ–रिक्सा सञ्चालन हुँदा सडक नै अस्तव्यस्त बनेको छ । दुई वर्ष पहिले इ–रिक्सा खरिद र सञ्चालनको नियमन र व्यवस्थापन उपमहानगरपालिका र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा गर्ने भनिएको थियो । र, सोही अनुसार इ–रिक्सा नियमन र व्यवस्थापन हुँदै आएको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि दुवै पक्षले यस विषयमा आवश्यक ध्यान नदिँदा इटहरीमा इ–रिक्साको संख्या अस्वभाविक रुपमा बढेको हो । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको र इ–रिक्सा नै कमाइ खाने भाँडो बनेको पाइएको छ । इ–रिक्सा सञ्चालन गर्दा दर्ता पनि आवश्यक नहुने र चालक अनुमतिपत्र पनि खासै आवश्यक नपर्ने भएपछि धरैको रोजाइमा यो पर्ने गरेको पाइन्छ । कोरोना महामारीभन्दा अघि खरिद गरिएका इ–रिक्साहरु दर्ता भएर नै सञ्चालन भएका थिए । तर, पछिल्लो समय स्थानीय सरकार उदासिन बन्दा दर्ता प्रक्रिया नै बन्द भएको हो ।

इ–रिक्सा दर्ताका लागि स्थानीय सरकार (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका) को सिफारिस अनिवार्य आवश्यक हुन्छ । यस विषयमा इटहरी उपमहानगरले आवश्यक ध्यान नदिँदा अहिले इटहरीमा सयौँको संख्यामा इ–रिक्सा बिनादर्ता नै सञ्चालनमा आएका हुन् । इटहरीमा सञ्चालन हुने इ–रिक्साको लागि रुट विभाजन गरिएको छ । कुन सफारीको लागि कुन रुट हो भनेर कतिपय सफारीमा नै लेखेको हामी देख्न सक्छौँ । उपमहानगरले निर्धारण गरेको रुटमा सञ्चालन गर्ने नीतिको नियमित अनुगमन गर्न नसक्दा सडक नै अस्तव्यस्त बनेको हो । इ–रिक्साको व्यवस्थापनको सम्बन्धमा ठोस नीति नहुँदा इटहरीलाई इ–रिक्सा चुनौतिको विषय बनेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता एवम् प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमनकुमार तिम्सिनाले जानकारी दिए । यो समस्या इटहरीको मात्र नभएको, प्रदेश १ का इ–रिक्सा सञ्चालन हुने प्राय सबै शहरमा यो टाउको दुखाइको विषय भएको उनको भनाइ छ । अहिले परिस्थिति असामान्य रहेकाले सामान्य भएलगत्तै कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।