बेलबारी/ मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नीति, कार्यक्रम सहितको सो बजेट प्रस्तुत गरेकी हुन् । जसमा, सशर्त शीर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तीय समानीकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
सशर्तका रूपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानीकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने अनुमान छ । सवारी साधन कर बाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको ७ लाख १७ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार तथा जनसहभागिताबाट १ करोड ५ लाखको अनुमानित बजेट रहेको छ ।
१० वटा वडाका लागि ८५ लाखका दरले बजेट विनियोजन गरिएको बताइएको छ । वडागत वजेट सिलिङ तोकिए पनि रकम बाँडफाँडको सबै योजना बनिनसकेको र नगरस्तरका योजनाको शीर्षक तय भए पनि बजेट बाँडफाँड नभएको बताइएको छ ।