विराटनगरः नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले धेरै कार्यकर्ताको शङ्का र भ्रम हटाउन विराटनगर आएको जनाएका छन् ।
आज विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले नेपाली काङ्ग्रेसका नेतामा मिलाप छैन भन्ने भ्रम छरिएकाले त्यसलाई चिर्न ३ जना नेता एक साथ विराटनगर आएको बताए ।

सशाङ्क कोइराला र सुजाता कोइरालासँगै मञ्चमा रहेका उनले भने, ‘अब उत्पादनमा जोड दिनुपर्छ । समाजवादलाई पनि पुनव्र्याख्या गर्न जरुरी छ । बीपी, जीपी, गणेशमान किसुनजी र सुशील कोइरालाको सपना पूरा गर्न हामी तिनै जना तयार छौँ ।’ अहिले राजनीति अस्थिर भएको र बीपी कोइरालादेखि जीपी कोइरालासम्मको समयको जस्तो काङ्ग्रेस शक्तिशाली हुन नसकेको उनको भनाइ थियो ।

बीपी (विश्वेश्वरप्रसाद) र जीपी (गिरिजाप्रसाद) ले देखाएको बाटोमा हिँड्नैपर्ने आवश्यकता देखिएको र त्यसो गर्न सके मात्रै सिङ्गो पार्टी र देशको हित हुने उनले बताए । देशका सबै पार्टीमा गुटबन्दी रहेको र सबै पार्टीमा नेतृत्वको खडेरी रहेको उनले जनाए । भ्रष्टाचार बढेको अनि न्यायपालिका, आर्थिक सूचक र सञ्चार क्षेत्रमा नैराश्य छाएको पनि उनले उल्लेख गरे ।

प्रहरीले सुरक्षा दिन नसकेको अनि नेपाली सेनामाथि हस्तक्षेप गर्न सरकार उद्यत रहेको उनको भनाइ थियो । सरकारले सूचनाको हकलाई बन्देज गरेको पनि उनले आरोप लगाए ।

पार्टीभित्रको विषय उठाउँदै उनले नेपाली काङ्ग्रेसभित्रको संवादहीनताले भातृ सङ्गठन चलायमान हुन नसकेको बताए । जीपी कोइरालाले अख्तियार गरेको सहमति, सहकार्य र एकताको माध्यमबाट शान्ति, विकास र समृद्धिको मार्गमा देशलाई लैजान आफूहरू तिनै जना प्रतिबद्ध रहेको उनले जनाए ।