सङ्खुवासभाः आज दिउँसो र राती लाग्ने ठूली एकादशीको मेला हेर्न खाँदबारी नगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई बिदा दिएको छ ।
खाँदबारी–९ को अरुण किनारमा लाग्ने मनकामना मेलालाई लक्षित गर्दै नगरपालिकाले ४८ वटा विद्यालय बन्द गराएको हो । खाँदबारीमा रहेका १३ सामुदायिक, ७ संस्थागत माध्यमिक विद्यालय र २८ वटा आधारभूत विद्यालय बन्द गरिएको हो ।
स्थानीय शासन सञ्चालन ऐनअनुसार स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्दै बिदा दिएको जनाएको छ । खाँदबारी नगरपालिकाको आह्वानमा सञ्चित बिदाबाट कटौती हुने गरी एक दिन विद्यालय बन्द गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।
यसरी नगरपालिकाको आह्वानमा विद्यालय बन्द गरिएको यो पहिलो पटक हो । विद्यालय बन्द हु“दा कतिपय अभिभावक रुष्ट छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा प्रत्यक वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन र रातमा मेला लाग्ने गरेको छ । यस वर्ष नगर प्रमुख अध्यक्ष भएको बृहतर मनकामना विकास समितिले मेला आयोजना गरेको हो ।
विगतका वर्षमा स्थानीय क्लबको आयोजनामा मेला सञ्चालन हुने गरेको थियो । अरुण उपत्यका स“गै मनकामना धामलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष फरक ढङ्गले मेला आयोजना गरिएको प्रमुख खतिवडाले बताए ।