इटहरीः लर्डबुद्ध इन्टरनेशनल स्कुल रामधुनी नगरपालिकाको चिरपरिचित नीति क्षेत्रबाट सञ्चालन भएको विद्यालय हो र अर्जुनप्रसाद न्यौपाने यसै स्कुलका फाउण्डर प्रिन्सिपल हुन् । सुनसरीको झुम्का क्षेत्रमा सञ्चालित विद्यालयहरुको नाम लिँदा सुरुमै आउँछ लर्डबुद्धको नाम । विद्यालयले आफ्नो नामलाई बचाइराख्न गरेको संघर्ष पनि रोचक छ । सरकारी तथा निजी थुप्रै विद्यालयहरु छन् झुम्कामा र शिक्षासेवीहरु पनि उत्तिनै छन् । ‘क्वालिटि एजुकेसन’ अर्थात् गुणस्तरीय शिक्षामा कन्जुस्याइँ नगरेकैले पनि लर्डबुद्धले पछाडि फर्केर हेर्नु परेको रहेनछ आजसम्म । २१ वर्षभन्दा बढी भएछ रामधुनी नगरपालिका क्षेत्रमा लर्डबुद्धको नाम जन्मिएको । हुर्केर २१ बर्षको हुँदासम्म निकै ठूलो संघर्ष गरेको रहेछ लर्डबुद्धले आफ्नो नाम र इज्जतलाई बचाइरहनका लागि ।

 

२०५७ सालमा हलमार्क र अक्सफोर्ड नाम गरेका दुई निजी स्कुलहरुको मजर्र भएर लर्डबुद्ध इन्टरनेसनल स्कुल बनेको रहेछ । २०६४ साल फाल्गुनमा अर्जुनप्रसाद न्यौपाने यो पवित्र संस्थासँग जोडिएका रहेछन् । व्यवस्थापनमा स्नातकोत्तर सम्मको पढाइ सकेपछि पायोनियर नामको इन्स्टिच्युट सञ्चालन गर्दै रहेछन् अर्जुन । पछि नियमित आम्दानी हुने आशामा ५ हजार तलब पाउनेगरी लर्डबुद्धमा जोडिएका रहेछन् शिक्षकको रुपमा । झुम्कामै रहेको भानु बोर्डिङ्गबाट विद्यालय तहको पढाइ गरेका अर्जुन त्यतिबेला पनि झुम्कामा निजी विद्यालयहरु निकै भएको याद गर्छन् । उनले अध्ययन गरेको भानु बोर्डिङ्ग भने अहिले छैन तर त्यसैको शैक्षिक उत्पादनले शिक्षाको क्षेत्रमा राम्रो काम गरिरहेको छ । शिक्षकको रुपमा लर्डबुद्धमा छिरेका अर्जुनलाई विस्तारै जिम्मेवारी लिनुपर्ने अवस्था आएको रहेछ । पोर्टफोलियो म्यानेज गनुपर्ने अवस्था आएपछि आफू मात्र रहनेगरी सबै पार्टनरहरुलाई बिदा गरेर आफैँले विद्यालय सञ्चालन गर्नु परेको अर्जुन सुनाउँछन् ।

principal lord buddha.

 

अर्कै ठाउँमा रहेको विद्यालयलाई २०६६ सालमा आफ्नै जग्गा रहेको ठाउँमा ल्याएका अर्जुनले २०६९ सम्ममा १५ लाखको पोर्टफोलियोलाई डेढ करोडको बनाएका रहेछन् । पोर्टफोलियो बढेकै बेला पार्टनरहरुलाई बिदा गर्नुपर्दा निकै सकस परेको रहेछ अर्जुनलाई । त्यसमाथि बिदा हुने पार्टनरहरुले पनि असहयोग गर्दा निकै गाह्रो भएको अर्जुनले हामीलाई सुनाए । बैंकबाट लोन लिन खोज्दा पनि बैंकलाई भड्काएर लोन पास गर्न नदिएको साथै २ महिना ढिलो हुँदा २ लाख रुपैयाँसम्म हर्जना तिर्नु परेको तितो अनुभव ताजै छ अर्जुनसँग । त्यो गाह्रो समयमा धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी बैंकले आफूलाई सहयोग गरेको अर्जुन सम्झिन्छन् । जे भए पनि ऋण भनेको ऋण नै हो । ऋण लिएबापत बैंकलाई किस्ता तिर्नुपर्छ, सावाँ र ब्याज पूरै भुक्तान गनुर््पर्छ । तर ठुलो कुरा त्यो हो जसले साह्रोगाह्रो परेको बेला सहयोग गर्छ । अहिले पनि पुरानो संघर्षले गर्दा लर्डबुद्धले आफ्नो नाम अब्बल दर्जामै राखेको रहेछ । व्यवस्थापनमा जतिसुकै चुनौति भएपनि शिक्षामा त्यसको असर पर्न नदिएका कारण लर्डबुद्ध अहिले पनि लर्डबुद्ध नै रहेको अर्जुन बताउँछन् ।

पहिले माध्यमिक तहमात्र सञ्चालन गर्दै ल्याएको लर्डबुद्धले २०६८ सालबाट भने टेन प्लस टु पनि सन्चालन गर्दै आएको रहेछ । व्यवस्थापन र कम्प्युटर साइन्स पढाइरहेको विद्यालयले यसै शैक्षिक सत्रबाट भने विज्ञानका विषयलाई पनि समावेस गरेको रहेछ । जुनसुकै संस्था पनि हचुवाको भरमा होइन, गुणस्तर र सिस्टमले चल्ने हो । त्यही कुरा लागु हुन्छ लर्डबुद्धमा पनि । लर्डबुद्धले अहिले पनि गुणस्तरलाई खस्किन नदिएको अर्जुनको भनाइ छ । प्रिकेजीका नानीहरुलाई विद्यालयमै खाजाको व्यवस्था गरिएको छ । अभिभावक आफैँ आएर ख्वाउन चाहेमा खाजा ख्वाउन सक्ने नत्र सबै नानीलाई सन्तुलित खाजा ख्वाउने व्यवस्था गरिएको प्रिन्सिपल बताउँछन् । आफू फाउण्डर भएको हुनाले कानूनी रुपमा आफैँले हेर्ने भएपनि शिक्षाको गुणस्तर लगायतका कुरा हेर्न विराटनगरबाटै धाउनेगरी प्रिन्सिपल र कोअर्डिनेटरको नियुक्ति गरेका छन् अर्जुनले । ठूला ठूला जोडी आफुनै भवन, सुविधासम्पन्न ४ वटा स्कुल बस, भलिबल,फुटबल खेल्न मिल्ने ठूलो खेलमैदान, नृत्य, म्युजिक क्लास, क्विज आदि गतिविधि पनि विद्यालयले समेटेको रहेछ । पछिल्लो पुस्तामा क्रिकेटको समेत इन्ट्रेस्ट बढेकोले यसपालिबाट क्रिकेटलाई पनि एक्ट्रा एक्टिभिटिजमा समावेस गर्न लागेको अर्जुनले हामीलाई सुनाउन भ्याए । लर्डबुद्धले यसैपालिबाट विद्यार्थीलाई अध्ययनको बानी बसाइराख्नको लागि लाईबे्ररी र ल्याबको निर्माण गरेको रहेछ । 

लामो शिक्षा अनुभव भएका प्रिन्सिपललाई हामीले निजी विद्यालयमा विकृतिको बारेमा पनि सोध्यौँ । टोल टोलमा गएर विद्यार्थीका गार्जेनसँग काउन्सिलिङ्ग गर्ने साथै पैसा कम लिने बाहानामा विद्याथीलाई तान्नेजस्ता गतिविधिहरु निजी स्कुलहरुले गर्ने गरेको र त्यसले विकृति फैल्याको अर्जुन सुनाउँछन् । अर्जुनको विचारमा निजी स्कुलहरुको अर्को विकृति भनेको वर्षेनी फरक फरक किताब पढाउनु तथा पब्लिकेसन हाउसहरुसँग मिलेर किताबलाई व्यापारिक बनाउनु पनि हो । लर्डबुद्धले भने ३ वर्ष नभई पुस्तक परिवर्तन नगर्ने नीति लिएको अर्जुनको भनाइ थियो । “हामीले कक्षा ९,१०,११ र १२ को लागि किताब रोटेसनमा चलाउने नीति ल्याउँदैछौँ । यसो भयो भने एउटा विद्याथीले पढिसकेको किताव अर्को वर्ष अर्को विद्यार्थीले पढ्न पाउँछ । यसो भयो भने केही मात्र भएपनि विद्यार्थीको आर्थिक भार कम हुन्छ ।” अर्जुन भन्दै थिए । अभिभावकहरु शिक्षित भए शिक्षा क्षेत्रका विकृतिहरु विस्तारै हट्दै जाने विचार पनि अर्जुनले हामीसँग राखे । सरकारले शिक्षा क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसकेको र यो क्षेत्रमा काम नै गर्न नसकेको बताउँछन् अर्जुन ।

अहिले पनि राम्रो शिक्षक नपाउने, रोजगारीको ग्यारेन्टि नहुँदा निजी विद्यालयमा शिक्षक बन्छु भन्ने भावना भएको जनशक्ति नै नहुने गरेको उनको भनाइ थियो । कम्तिमा विज्ञान विषय लिएर पढिसकेपछि शिक्षा संकाय पढाउनुपर्ने र अनि मात्र शिक्षा क्षेत्रको लागि दक्ष जनशक्ति तयार हुने यी युवाको बुझाइ छ । कोरोनाले शिक्षा लिने विद्यार्थीको जीवनमा त असर गरेको छ नै । विद्यालय सञ्चालन गर्ने निजी क्षेत्रका सञ्चालकहरु प्नि निकै मारमा परेका छन् । २ वर्षको कोरोना महामारीले १० वर्ष पर धकेलेको लर्डबुद्धको भनाइ छ । गुणस्तरीय शिक्षामा यसरी नै गतिशिल यात्रा तय गरोस् । लर्डबुद्धलाई हाम्रो शुभकामना ।