इटहरीः इटहरी नगरसभाले शहरको मुख्य क्षेत्रको रूपमा इटहरी चोकको सौन्दर्य बढाउन नमुना रात्री बजार लगाउने भन्दै ४० लाख रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख लक्ष्मी गौतमले सुरक्षा निकायसँग पनि आवश्यक समन्वय गरी बजार निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको घोषणा गरेकी थिइन् ।
सो रात्री बजारको बारेमा थप प्रगति कस्तो रह्यो भन्ने बारेमा नगरपालिकाले हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन ।
उता, उद्योग वाणिज्य सङ्घको नेतृत्व लिने क्रममा चुनावी घोषणापत्रमै इटहरीलाई कहिल्यै नसुत्ने शहर बनाइने वाचा गरिएको थियो । तर, निर्वाचनपछि सेलाएको रात्रिकालीन बजारको विषयले अहिलेसम्म पनि थप चर्चा पाएको छैन ।
नगरसभाको बजेट कार्यान्वयन गर्न इटहरी उपमहानगरपालिकाको गत भदौ ३१ गते बसेको कार्यपालिका बैठकमा इटहरीको आइतबारेदेखि नेपाल टेलिकमसम्म रात्री बजार लगाउने निर्णय भएको थियो । सो निर्णयको कार्यान्वयनको लागि नगरपालिकाले थप पहल नगरेको व्यवसायी बताउँछन् ।
साँझ पर्नासाथ प्रहरीले सडकमा व्यापार गर्ने तथा सटरमा व्यापार गर्नेलाई हप्काउन थाल्ने हुनाले यो विषय कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्छन् ठेलामा खाजा पसल सञ्चालन गर्ने श्रवण महतो ।
महतो मात्र होइन इटहरीमा होटललगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका अधिकांश व्यवसायी राति बजार सञ्चालन हुने कुरामा विश्वस्त छैनन् । यस्ता नारा चुनावी नारामात्रै हुने गरेको होटल व्यवसायी मीना राउतको भनाइ छ ।
‘कार्यान्वयन भयो भने त राम्रो विषय हो तर साँझ ८ बजेपछि प्रहरीले होटल बन्द गराउँदै हिँड्न थाल्छ,’ राउत भन्छिन्, ‘यस्ता प्रहरी र ८ बजेपछि व्यवसाय बन्द गर्ने तयारी गर्ने व्यवसायी भएको ठाउँमा कसरी चल्ला रात्री बजार ?’
इटहरीमा दिउँसो लाग्ने बजार पनि व्यवस्थित छैन । दिउँसो लाग्ने बजारमै सडक अतिक्रमण हुने गरेको छ । यस्तो अवस्थामा रात्री बजार लाग्ने विषयमा आशङ्का व्यक्त गर्छन् स्थानीय विमल निरौला । ‘उपभोक्ता हितको हिसाबले पनि रात्रिकालीन बजार लगाउनु सकारात्मक हो,’ निरौला भन्छन्, ‘हचुवाको भरमा बजार व्यवस्थापन हुन गाह्रो छ ।’
यसै वर्ष काम सकिन्छः उपप्रमुख गौतम
यता, नीतिगत निर्णय र बजेट पनि दुवै भएकाले यस वर्ष नै इटहरीमा रात्रिकालीन बजार लगाउने विषयमा नगरपालिका कटीबद्ध भएको उपप्रमुख लक्ष्मी गौतम बताउँछिन् । रात्रिकालीन बजार शहरको पहिचान र प्रतिष्ठाको विषय भएकाले यो गौरवको आयोजना भएको उनको भनाइ छ ।
गौतमका अनुसार मापदण्ड निर्माण तथा अन्य प्राविधिक कारण र चाडपर्वका कारण यो विषय ओझेलमा परेको हो । यसै महिनाभित्रमा वडालाई नै उपभोक्ता समिति निर्माणको कार्य जिम्मा दिएर रात्री बजारको योजना अघि बढ्ने उनले बताइन् ।