सङ्खुवासभाः सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले अघिल्लो महिना सय वटा नयाँ गन्तव्यको छनोट गरेर सार्वजनिक ग¥यो । सङ्खुवासभाका पनि दुई गन्तव्य सो सूचीमा परे ।
सो सूचीमा प्रसिद्ध धार्मिक स्थल बालेश्वर गुफा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा र विश्वकै होचो उपत्यका अरुण उपत्यका स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका रूपमा राखिएको छ । अरुण उपत्यकाको परिचय अरुण उपत्यका सदरमुकाम खाँदबारीबाट १३ किलोमिटर टाढा पर्छ । अरुण उपत्यकामा पूर्वकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर समेत रहेको छ । सो उपत्यकामा सती प्रथाको विरुद्ध योगमाया न्यौपानेले आफ्ना ६८ जना अनुयायीहरूका साथ जलसमाधि लिएकी थिइन् ।
बालागुरु षडानन्द अधिकारीले शिक्षाको ज्योति छरेको उपत्यका भनेर पनि सो उपत्यकालाई चिनिन्छ । यातायातको असुविधाको कारणले गर्दा यो ठाउँले पाउनुपर्ने जति चर्चा पाउन सकेको छैन । भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको यो उपत्यकालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ ।
तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । कुनै पर्व विशेषमा धार्मिक पर्यटक दुःखका साथ ती स्थानमा पुग्ने गरे पनि अरु बेला चाहेर पनि पर्यटकहरू पुग्न सकिरहेका छैनन् । सरकारले छानेका जिल्लाको दुई गन्तव्यमध्ये अरुण उपत्यका पर्यटकीय गन्तव्यमध्ये सबैभन्दा उच्च स्थानको हो ।
जिल्लाका विभिन्न क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि स्थानीय तहले समेत अग्रसरता देखाएका छन् । तर पर्याप्त बजेट तथा योजना नहुँदा अझै पनि ती क्षेत्रहरू ओझेलमा नै छन् । खासगरी पर्यटकीय क्षेत्रको विकासका लागि खाँदबारी नगरपालिकाले योजना बनाइरहेको अरुण उपत्यका रहेको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताए ।