इटहरीः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा धिमाल जाति प्रथम नागरिक घोषित भएको छ । २०७४ असोज ३० गते दमकको प्रथम नागरिक घोषित भएपछि धिमालहरूको भाषा तथा लिपि संरक्षण गर्न स्थानीय सरकारले बजेट छुट्यायो ।

धिमाल जातिका विभिन्न मूर्तिहरू स्थानीय सरकारले नगरपालिका परिसरमा राख्यो । धिमालको ऐतिहासिक महत्व झल्काउने वृत्तचित्र बनाइयो । यतिमात्रै होइन स्थानीय सरकारका जागिर तथा कार्यक्रमहरूमा धिमाल जातिले प्राथमिकता पाए ।

धिमाल जाति दमकमा प्रथम पटक आवादी गर्ने समुदाय भएकाले प्रथम नागरिक औपचारिक रूपमा घोषणा गरेको मेयर रोमनाथ ओलीले बताए । प्रथम नागरिक औपचारिक रूपमा घोषणा भए पनि धिमाल जातिको उत्थान, विकास र सम्मानमा वृद्धि हुने मेयर ओलीले बताए । अन्य स्थानीय तहमा पनि पहिलो पटक आवादी गरेको समुदायलाई धिमाललाई जस्तै प्रथम नागरिक बनाउन सकिने ओली बताउँछन् । प्रदेश पोर्टलसँग कुराकानी गर्दै ओलीले भने, ‘राजवंशीको ऐतिहासिकता भएको क्षेत्रमा राजवशंी र अन्य आदिवासीको ऐतिहासिकता भएको स्थानीय तहमा उनीहरूलाई प्रथम नागरिक बनाउन सकिन्छ ।’

इटहरीमा परापूर्वकालदेखि प्रथम आवादी गरेका थारुहरूलाई प्रथम नागरिक बनाउन सकिने ओलीले बताए । स्थानीय संस्कार, संस्कृति र भाषाभाषीको सम्मान र विकासमा यस्ता घोषणाले धेरै अर्थ राख्ने पनि मेयर ओलीले बताए ।

पहिलो आवादी गर्ने र हालसम्मको इटहरीको सबैभन्दा ठूलो समुदाय थारु भएकाले थारुलाई प्रथम नागरिक बनाउँदा राम्रो हुन सक्ने तर्क मेयर ओलीले गरे । नगरसभाबाट यस्तो घोषणा गरेमा धेरै राम्रो सन्देश जाने मेयर ओलीले बताए । उनले भने, ‘इटहरीमा पहिलेदेखि आवादी गरेका थारुहरूलाई प्रथम नागरिक बनाएको अवस्थामा त्यो समुदायको विकासमा धेरै सहयोग पुग्छ । सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमहरू आएर सहयोग हुन्छ ।’