झापाः सिद्धिखोला सिँचाइ जल उपभोक्ता समिति मेचीनगर बाहुनडाँगीको उपभोक्ता समिति र स्थानीयवासीबीचको विवादलाई अन्त्य गर्न जनप्रतिनिधि र सामाजिक अगुवाहरूले सुझाव दिएका छन् ।

मेची जनसाधारण माध्यमिक विद्यालय बाहुनडाँगीमा सम्पन्न समितिको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष हरि चौलागाईंले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद समाधानको उपाय खोज्न माग गरेका थिए । उपभोक्ता समिति र स्थानीयवासीबीच विवाद भएका कारण यसै साधारणसभाबाट निर्णय गर्ने प्रस्ताव अघि सार्दछु भनेपछि समाधान खोजिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले समस्याको मुख्य कारण खोजेर आपसमा छलफल गरी समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका थिए ।

शाखा नम्बर ७ को मुहान सारेको विषयलाई लिएर स्थानीयवासी र उपभोक्ताहरूबीच विवाद भएको अध्यक्ष चौलागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष चौलागाईँले यसै साधारणसभाबाट निर्णय गर्नुपर्ने भन्दै विवादका सम्बन्धमा ४ वटा प्रस्ताव पेश गरेका थिए ।

नगरले समन्वय गर्ने
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले विवाद समाधानमा नगरले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘४८ करोड रुपैयाँ खर्च गरेर यहाँसम्म आएको यो गौरवको योजना आपसी विवादका कारण अलपत्र पर्नुहुन्न’, आचार्यले भने, ‘स्थानीय सरकार भएको हैसियतले यति ठुलो संस्था सङ्कटमा परेमा वा कुनै समस्या आए नगरपालिकाले पनि कहाँ समन्वय गर्नुपर्छ त्यो भूमिका निर्वाह गर्न तयार हुनुपर्छ ।’

संस्थामा देखिएको समस्या समाधनका लागि नगरपालिकाकातर्फबाट प्रदेश तथा सङ्घीय सरकार, विभिन्न विज्ञहरूसँग बसेर छलफल तथा अभिभावकको जिम्मेवारी पूरा गर्ने नगरप्रमुख आचार्यले प्रष्ट पारे । अहिले सम्म संस्थाले मेचीनगर नगरपालिकासँग कुनै समन्वय नगरेको तर, संस्थालाई नगरपालिकाको तर्फबाट साथ सहयोग रहने नगर प्रमुख आचार्यले विश्वास दिलाएका थिए ।

कार्यक्रमकी विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले संस्थामा एक आपसमा विवाद भए अघि बढ्न नसक्ने भन्दै तत्काल सबै पक्ष एक ठाउँमा बसेर मिलाउन सम्बन्धित पक्षलाई आग्रह गरिन् । विवादले संस्था अघि बढ्नुको साटो आरोलो लागेर जाने भएकाले त्यसतर्फ सचेत रहन समेत उपपप्रमुख उप्रेतीले जोड दिइन् । विवादमात्र झिक्ने र सधै यसैमा अल्झिरहने हो भने कसैको हित नहुने बजेट पनि विनियोजन नहुने हुदा समस्याको समाधानतर्फ लाग्न उनको सुझाव थियो ।

वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपानेले यस्तो विवाद बाहिर आउनु राम्रो कुरा नभएको बताए । उनले यो सिंचाइबाट पानी भन्दा पनि पञ्चामृत पाएको भन्दै पञ्चामृत वितरणमा विवाद निस्कनु राम्रो कुरा नभएको उल्लेख गरे । कार्यक्रममा वडा नम्बर १, ३ र ८ का का वडाध्यक्षहरू क्रमश पासाङ तामाङ, हर्कबहादुर बस्नेत र नवीन बरालले, विभिन्न सङ्घ संस्थाका प्रमुख र प्रतिनिधिलगायतले बोलेका थिए ।