सङ्खुवासभाः मंसीर महिनाको चिसो र अरुणको सिरेटोको पर्वाह नगरी लोक गायक बद्री पंगेनीले आइतबार राती खाँदबारीका दर्शकलाई रुवाउँदै नचाए ।

पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना धाममा भएको बृहत मनकामना एकादशी मेला तथा स्व. खेमराज गुरुङ स्मृति साँझ कार्यक्रममा लोक गायक पंगेनी मुख्य आकर्षक बने ।

मेलास्थलमा बनाइएको मञ्चमा आइतबार दिनभर राजनीतिक दलका नेताले सम्बोधन गरे । भाषण सुन्दै गएका मेलाका सहभागी साँझसम्ममा वाक्क भइसकेका थिए ।

त्यही बीचमा उद्घोषकले स्टेजमा बोलाए लोक गाएक बद्री पंगेनीलाई । आफूले २ वटामात्रै गीत गाउने बताउँदै पहिलो गीतमा उनले दर्शक÷स्रोतालाई भावुक बनाए । विदेशिएका नेपालीहरूको पीडालाई गीतमा उतारेका गायक पंगेनीले सो गीत गाउँदा उपस्थित दर्शकका आँखा रसाए ।

बाध्य भइयो परदेशमा छिर्न
मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन
अहिलेको साल पनि आमा घरमा आउँदिनँ ।
यो गीत सुन्दा उपस्थित दर्शकमध्ये पाका व्यक्तिले त आँसु थाम्नै सकेनन् । आफ्ना गीतमा बुबा आमा समानका दर्शक रोएको देखेपछि गायक पंगेनीले स्टेज तल झरेर उनीहरूको आँसु पुछिदिए । लगत्तै मञ्चमा उक्लिएर गीत गाउने क्रममा पंगेनी स्वयम्ले पनि आँसु रोक्न सकेनन् । नेपाली युवाहरू विदेशिनुपर्दाको पीडा र घरमा बुढा आमाबुबा एक्लै बस्दाको पीडालाई गीत मार्फत सुनाउँदा बद्रीका आँखा रसाएपछि उपस्थित दर्शकले आँसु थाम्न सकेनन् । पहिलो गीतबाट गायक पंगेनीले दर्शकलाई रुवाए पनि त्यसपछिका गीतबाट उनले दर्शकलाई नचाए ।

उनले त्यसरी स्टेजमा रुवाएनन् मात्रै उनैलाई हेर्न भनेर बसेका राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई व्यङ्ग्य समेत गर्न भ्याए । विदेशिएका छोराहरूको कथाव्यथालाई गीतमा प्रस्तुत गरिसकेपछि बद्रीले गीतबाटै नेताहरूलाई व्यङ्ग्य गरे । निर्वाचनको समयमा जनतासँग गरेका वाचा सम्झाए । गाउँका समस्या र विकास निर्माणका कुरा गीतबाटै उल्लेख गरे । गीतबाटै उनले भने,

हाम्रो गाउँमा स्कुल छैन, बाटो छैन, पानी छैन
जनतालाई साँझ बिहान पेटभरि खाना छैन ।

उनले अगाडि थपे,
सुन नेताज्यू शहर मात्र बस्ने नगर
ल है नेताज्यू चिल्ला कारमा फस्ने नगर ।

यो गीतमा बद्रीले दर्शकहरूको गडगडाहट ताली पाए । यी दुई गीत उनका शुरुवाती गीत थिए । त्यति गीत गाएर पुनः राती गीत गाउने वाचा गर्दै बद्रीले मञ्च खालि गरिदिए स्थानीय कलाकारहरूलाई । बीचमा स्थानीय कलाकारहरूका विभिन्न प्रस्तुति रहे ।
करिब रातको ११ बजे पंगेनीलाई कार्यक्रम सञ्चालकहरूले पुनः मञ्चमा बोलाए । दर्शकको तालीको गडगडाहटले मनकामना धाम फेरि एकपटक गुञ्जियो । अनि बद्री आए स्टेजमा र शुरु भयो उनको धमाका ।

उनले रातो पछेउरी..., ससुरालीमा...जस्ता आफ्ना चर्चित गीत गाएर दर्शकलाई नचाए । उनले करिब दर्जन गीतहरू गाए । दर्शकहरू पनि नाचि नै रहे । ‘रातो पछ्यौरी...’ बोलको गीत गाउँदा स–साना बालबालिकादेखि पाका उमेर समूहका मान्छेहरू समेत स्टेज अगाडि पुगेर नाच्न थाले । उनले ‘खान्न म त पिँडालु कोक्यायो...’ बोलको गीत गाउँदा पनि सबैले नाचेर उनलाई साथ दिएका थिए ।

उनले ‘झ्याउरेको तालैमा...’ बोलको गीत गाउँदा स्टेजदेखि स्टलसम्म सबैजना नाचेका थिए । बढ्दै गइरहेको रात र चिसोको कुनै पर्वाह नगरी दर्शकहरू मज्जाले नाचे ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अघिल्लो रात सो स्थानमा मेला लाग्ने गरेको छ । सोही क्रममा सो मेलालाई व्यवस्थित बनाउन भन्दै बृहत्तर मनकामना विकास समितिले वर्षको मेलाको व्यवस्थापन गरेको थियो । बृहत मनकामना धामको विकास र सम्वद्र्धनका लागि धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको र प्रवद्र्धनको लागि प्रचार गरौँ भन्ने नाराका साथ यस वर्ष मेला लागेको हो । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

umang