इटहरीः लामो समयदेखि चलचित्र नपाएका सिनेमा हलहरुमा असोज २५ गतेदेखि नेपाली चलचित्र ‘धन्दागिरी’ प्रदर्शन हुने भएको छ ।

दसैँको फूलपातिको अघिल्लो दिनलाई चलचित्र निर्माण पक्षले व्यापार बढाउने मौकाका रुपमा प्रयोग गर्ने भएका हुन् । सार्वजनिक प्रदर्शनको मिति घोषणासँगै निर्माण पक्षले चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरेर प्रचारप्रसारलाई तिव्र बनाएका छन् । ट्रेलर हेर्दा चलचित्र द्वन्द्वप्रधान भएको देखिन्छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व.दीपक क्षेत्री, स्व.बिएस राणा लगायतले पनि अभिनय गरेका छन् ।

धन्दागिरी कथा र निर्देशन नरेन्द्र भट्टराई (एन बी अन्जान) को कथा र निर्देशनमा तयार भएको छ । वरिष्ठ पत्रकार कृष्ण भट्टराईले चलचित्रको सम्वाद तयार पारेका हुन् । दिनेश खड्का एसोसियट निर्माता र कुमारप्रसाद ओझा चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रको निर्माण भने कविभक्त क्षेत्री र फुर्वादोर्जे तामाङले संयुक्त रुपमा गरेका हुन् । आरआर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । चलचित्रको डिजिटल सर्वाधिकार डिआर मुभिज एन्ड फिल्मस्मा निहित रहेको बताइएको छ ।