दसैँप्रतिको बुझाइ, विश्वास र मान्यता ठ्याक्कै कुन प्रसङ्गले कसिलो बनायो त्यता नजाऔं । सानों छँदा भोगेका भोगाइले जे सिकायो ती औधी प्रेममय थिए जसका कारण आज पनि दशंै प्रिय छ । तर बाल्यकालको दशैं र आजको दशैं दर्ज गर्दा आकाश पातालको भिन्नता छ ।

पहाडमा दशैं आउन लाग्दा हावाको बहाब र बेग नै भिन्न लाग्थ्यो । माटोको सुगन्ध, फूलको सुवास, चराहरूको सङ्गीत, घामको स्पर्श सबै अर्कै छुट्टै प्रेमिल लाग्थे । स्कुल छुट्टी भएपछि औंला भाँच्न शुरु हुन्थ्यो दशैं आउने दिन गनेर । साँच्चै अनौठो त्यो समय । त्यसमा पनि सबै घरहरू पोतिएर चिटिक्क पारेपछि, बाटो खनेर चौडा र सिनिक्क बनाएपछि वर्णनमा सुनेको स्वर्ग भन्दा कम कहाँ थियो र मेरो घर अनि गाउँ ।

म बच्चादेखि नै अलि पृथक स्वभावकी केटी रहेँछु । अहिले सम्झँदा मेरो उसबेलाको मिहिनेत र सङ्घर्ष आफैँलाई महान लाग्छ । दशैंसँग जोडिएका अनेक निजी अनुभव, साहस र थुप्रै सुन्दर स्मृति छन् मसँग । ती स्मृति र भोगाइले घरीघरी उतै तानेर लैजान्छन् आफैंबाट मेरा दैनिकीहरूलाई र मेरा सपनाहरूलाई ।

हामीले जान्दा हाम्रो घरको रङ न पहेँलो न रातो न सेतो अनौठो रङको थियो । अरुको भन्दा पृथक घरको रङ देखेर मैले बुबाआमालाई कलर चेन्ज गर्न भनेँ । बुबाआमा मान्नु भएन ।’ अरुको जस्तो त अरुकै छँदैछ नि र त हाम्रो फरक बनाएको त ।’ बुबाको जवाफ थियो ।

धेरै जिद्दी गरेपछि मात्र उहाँहरूले सहमति दिनुभयो मेरो रहरको घर बनाउन । बुबाआमासँग तर्क र तयारीले जितेपछि त्यस वर्षको घर सिँगार्ने सबैजसो काम मैले आफैँ गर्ने हिम्मत गरेँ । आउन जान गरी लगभग ५ घण्टाको बाटो हिँडेर आफैँ रातो गाढा माटो खोजेर ल्याएँ र घरमा पनि आफैँ छेपेँ । हाम्रो घर अग्लो तीन तले थियो । ठूलो र अग्लो भ¥याङ चढेर हरियो किटको बाल्टीमा रङ्गीन माटोको घोल छानाको बलोमा डोरीले झुन्ड्याएर मैले घर छेपेँ ।

rato-mato-1

ठूलोबुबाले बुइँगल नजिक पुगेको मेरो उचाइ हेर्दै गर्वले हँसिलो चेहरा बनाएर भुइँमा बसेर भ¥याङ समाइदिनुभयो । साना हातहरूले कुचो चोप्दै छ्याप् छ्याप् पहिलो पटक सानी केटीले घर छेपेको देखेर बुबाआमा र छिमेकीहरू छक्कै पर्नुभयो । त्यसबेला म त्यस्तै १३÷१४ वर्ष मात्र पुगेकी थिएँ ।

अहिले पनि याद ताजै छ । म कलर(रङ)को कुरामा चाहिँ निकै चुजी रहेँछु भन्ने कुरा मैले हाम्रो घरमा तीन वर्षमा तीन ओटा रङ छानीछानी पोतेको कुराले पुष्टि गर्छ । रातो रङ पोतेको ठीक एक वर्षपछिको दशैंमा मैले घरमा सेतो चम्किलो कमेरो माटोले पोतें । अर्को बर्षको दशैंमा त्यो पनि मन परेन र निख्खुर पहेँलो रङले घर रङ्गाएँ । माथि पहेँलो र तल भुइँमाथिको भागमा सिधा लाइन बनाउन डोरी तन्काएर रातो माटोले पोतेपछि बल्ल बन्यो मेरो रहरको घर । साँच्चै खुब मुस्कुरायो हाम्रो घर त्यस बेला । त्यो भन्दा धेरै मुस्कुराएर रमायो मभित्रको सानो मान्छे ।

घरमाथि पाखेखेत छेउमा ठूल्ठूला मौवाका रुखहरू थिए । झ्यालहरू रङ्गाउन हामी हरेक वर्ष मौवाको वयस्क बोट खुर्केर बोक्राहरू जम्मा गथ्र्याैँ । ढिकीमा कुटेर ती बोक्रा ठूला भाँडामा राखेर २ दिनसम्म आगोमा पकाएपछि पक्की रङ बन्थ्यो । जसले झ्यालढोका रङ्गाएपछि घर बेहुली झैँ हुन्थ्यो । भित्ता, झ्याल, ढोका आफ्नो चाहनाअनुसार भएपछि बल्ल हाम्रो घर सपनाको घरजस्तो भयो ।

त्यसपछि घरको बाहिरी रङ कहिल्यै फेरिएन । मेरो कलिलो छनोट परिवारको अब्बल स्वीकृति बन्यो समयसँगै घरभित्रका थुप्रै कथाहरू फेरिए । जीर्ण प्वालहरू टालिए । पात्रहरू थपिए । अभिनय फेरिए । त्यही घरबाट कयौं दशैंहरू बिते । जति बिते खुशीले बिते दुःखहरूलाई जितेर बिते । आँशुलाई उछिनेरै बिते । घर पनि एक शक्ति रहेछ, सुरक्षा र विश्वास रहेछ । प्रत्याभूत भयो ।

house

दशैंमा पिङ हाल्न कि त बारीमा अगौटे (नल कटुवा)कोदो रोपिन्थ्यो कि त खेतमा तौली धान । बारीका डिलमा बाबियो जोगाएर राखिन्थ्यो पिङको लठारो बाट्न भनेर । धान गोडि नसकेको साल अलि भद्दा लाग्थ्यो दशैं । तसर्थ दशैं उल्लासले मनाउन झरी बादल नभनी धान गोड्ने काम मैझारो गर्नै पथ्र्याे । दशैं लागेसँगै गाउँभरि मात्रै होइन पारिपारि बोयातिरबाट समेत शक्तिशाली आवाज मसम्म आइपुग्थ्यो । चिउरा कुट्दा निस्कने ढिकी बजेको त्यो सङ्गीतको मिठास नै छुट्टै थियो ।

आहा ! त्यो बेलाको दशैं, चिउरा कुटिसकेको दिन मसला कुट्ने दिन पनि हो । तातो हाँडीमा हजुरआमाले फिलुङ्गे र फर्सीको बियाँ भुटेर नाङ्लाभरी बनाउने दिन, हामीले धुले अचार कुट्ने दिन । आमा पाकेको काँक्राको खल्पी हाल्नुहुन्थ्यो रायोको पहेँलो छोप मिलाएर । दाजुहरू घरको अन्य काम सिध्याएर गाउँमा बाबियो खोज्न जानुहुन्थ्यो । बुबा पिङको डोरी बाट्नुहुन्थ्यो । ठूलोबुबाले कि त काभ्राको रुखमा कि त मतानमुनि पिङ हाल्दिनुहुन्थ्यो । आँगनमा जेठा दाइ (जेठा दमाई) नयाँ लुगा सिलाउनुहुन्थ्यो । आँगनमै कान्छा साहु दुई हातले डोरी तान्दै हतियारमा साँध (धार) लगाउनु हुन्थ्यो । साँध लगाइससेका हँसिया, खुकुरी, कोदालो, कट्टी, तरबार आदि हतियारहरू तलामाथि दुर्गा थापेर डमरु र घण्ट पूजा बजेपछि, आँगनमा खसी मार हानेपछि, नयाँ लुगा लगाएपछि पिङ मच्चाउन थालेपछि बल्ल शुरु हुन्थ्यो हाम्रो दशैं ।

नयाँ लुगा लगाएर ठूला मान्छेहरूको हातबाट निधारभरि रातो टीका, शीरभरि पहेँलो जमरा, मुठीभरी पैसा र मनभरि आशीर्वाद थापेको दिन संसारकै धनी र भाग्यमानी भएको महसुस हुन्थ्यो ।

एक्लैएक्लै बोलाएर कहाँ आउथ्यो र पहाडमा दशैँ ? घरदेखि अलि पर पँधेरो थियो । उसबेला गाउँमा बिजुलीबत्ती थिएन । फराकिलो बाटो थिएन । पैदल हिँडेर थाकेपनि दुःख बिसाउने मनकारी छिमेकी थिए । फराकिलो बाटो नभएर के भो र चौडा छाती र बत्ती भन्दा उज्यालो मन भएका मान्छेहरू गाउँभरी थिए ।

घरदेखी कोशौँ टाढा ढुङ्गेधारो भए पनि मृदु वचनले तिर्खा मेट्ने संगीहरू थिए । अहिले गाउँमा बाटो छ । बिजुली बत्ती छ । भौतिक रूपले गाउँ झिलिमिली छ तर बत्ती वरिपरि खेल्ने रहरहरू परपर छन् । झोलुङ्गेमा झकाइरहेको बालक झैँ उज्यालो आफैँ एक्लै शर्माइरहेछ शून्यताको कोक्रोभित्र । जे भए पनि कहिल्यै भुल्न नसक्ने अमिट सम्झनाहरू हृदयमै छन् । त्यो दशैँ क्रेज जसले घरीघरी भेटाइरहन्छन् स्मृतिमा । मेरो गाउँ, मेरो बाल्यकाल अनि बर्सेनी आउने प्रिय दशैं र प्रिय रङ ।

gau-dsai