इटहरीः माउन्टेन फ्लाइट गर्न सङ्घीय राजधानी काठमाडौं जाँदै हुनुहुन्छ ?  यदि हुनुहुन्छ भने आफ्नो प्लान बन्द गर्नुहोस् । र पैसा जोगाउनु होस् । अब, प्रदेश १ बाटै माउन्टेन फ्लाइट हुने भएको छ । ९ हजार ९ सय रुपैयाँ तिरेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै माउन्टेन फ्लाइट गर्न पाइने भएको छ ।

२०७३ फागुनमा पहिलो पटक विराटनगरको एक मेलामा भएको माउन्टेन फ्लाइट नियमित गर्न निजी क्षेत्रका व्यवसायी लागि परेका छन् । यति एयरलाइन्ससँगको सहकार्यमा विराट होलिडेजले माउन्टेन फ्लाइट आगामी शनिबारबाट गर्ने भएको छ । व्यवसायी भवेश श्रेष्ठले यसको नेतृत्व गरिरहेका छन् ।

विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले आगामी शनिबारबाट माउन्टेन फ्लाइट गर्ने तयारी भएको बताए । माउन्टेन फ्लाइटमार्फत् प्रदेश १ का उच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मकालु आदि हिमशिखर हेर्न पाइने सिटौलाले बताए ।

शनिबार बिहान ७ बजे पहिलो परीक्षण उडानको तयारीमा सबै जुटेको यति एयरलाइन्सका विराटनगर प्रमुख प्रेम कुँवरले बताए । उडानको प्रवद्र्धन गरिरहेका धरानका पर्यटन व्यवसायी तथा सेछ ट्राभलिङका सञ्चालक वासुदेव बरालका अनुसार माउन्टेन फ्लाइटमा सबै १९ जनालाई झ्यालको सिट हुनेछ भने हिमालमाथि सहज तस्बिर लिन सकिनेछ ।

यति एयरलाइन्सको जेटस्ट्रिम जहाजबाट माउन्टेन फ्लाइटको तयारी भएको एयरलाइन्सका विराटनगर शाखा प्रमुख प्रेम कुँवरले बताए । काठमाडौं र पोखरापछि भएको तेस्रो माउन्टेन फ्लाइट ५५ मिनेटको हुने कुँवरले बताए ।


पहिलो उडान सफल भएमा हरेक शनिबार एउटादेखि ३ वटासम्म उडान गर्ने तयारी भएको कुँवरले बताए । शुक्रबार राती आएको यतिको जहाज विमानस्थलमा पार्किङ गरेर बिहानै माउन्टेन फ्लाइटमा जाने कुँवरले बताए ।