सङ्खुवासभाः चीन, नेपाल र भारत जोड्ने सबैभन्दा छोटो निर्माणाधीन सडक उत्तर दक्षिण राजमार्ग (किमाथाङ्का–विराटनगर–रानी सडक) छिटो निर्माण गर्नका लागि प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम सहित प्रदेशका सांसदले चासो देखाएका छन् ।

जोगबनी– किमाथाङ्का सडकसहित किमाथाङ्का क्षेत्रको अध्ययन र स्थलगत अनुगमन गर्न प्रतिनिधिसभाका सदस्य गौतमको नेतृत्वमा जिल्लाका उच्च अधिकारीहरूको एक टोली आज सो क्षेत्र प्रस्थान गरेको छ ।

प्रस्थान गर्नुअघि आज सदरमुकाम खाँदबारीमा पत्रकारहरूसँग संक्षिप्त भेटघाट गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले उत्तर दक्षिण राजमार्ग (किमाथाङ्का–विराटनगर–रानी सडक) ले ३ देश जोड्ने बताए । चीन, नेपाल र भारतलाई जोड्ने सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुने सडक यही भएकाले सडकको अवलोकन भ्रमणमा जान लागेको उनले बताए ।

भ्रमण टोलीमा गौतमसहित प्रदेशसभा सदस्यहरू पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ, सरिता खड्का, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी रहेका छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगर, सशस्त्र प्रहरी बलका डिएसपी कविन्द्र राई, उत्तर दक्षिण कोशी आयोजनाका प्रमुख पशुपति ज्ञवाली र सीमा प्रशासन प्रमुख लगायतको उच्च अधिकारीको टोली रहेको छ ।

९ दिन लामो उक्त स्थलगत भ्रमण तथा अध्ययन अनुगमन टोलीले जिल्लाको विकट क्षेत्र भोटखोला अन्तर्गतको जोगबनी–किमाथाङ्का सडक बिस्तारको अवस्था, सीमा भन्सार र अध्यागमन, सीमा प्रशासन र सशस्त्र प्रहरी बलको कार्यालय स्थापना लगायतका बारेमा स्थलगत अनुगमन गर्नेछ । भ्रमणको क्रममा छिमेकी मित्र राष्ट्र चीनको स्थानीय प्रशासनसँग शिष्टाचार भेटवार्ता हुनुका साथै दुई पक्षीय हितका विषयमा आपसी छलफल हुने गौतमको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अरुण नदीमा तटबन्ध, सुख्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन, अपर अरुण र किमाथाङ्का अरुण जलविद्युत आयोजनाको सम्भावित आयोजना स्थलको जानकारी समेत लिइने भनिएको छ ।

जोगबनी– किमाथाङ्का सडक पूरा हुन अब २३ किलोमिटर मात्रै बाँकी छ । जोगबनी–किमाथाङ्का जम्मा ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोलिसकिएको छ ।

खाँदबारी– किमाथाङ्का सडकको लम्बाइ १ सय ६२ किलोमिटर छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिएको छ । त्यहाँसम्म १ सय ३९ किलोमिटर कच्ची सडक निर्माण भएको छ । उत्तर दक्षिण कोशी सडक योजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन लैजान सकिने जनाएको छ ।

उत्तर दक्षिण कोशी सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार हालसम्म २ अर्ब ३९ करोड बजेटमध्ये २ अर्ब ११ करोड भने खर्च भइसकेको छ ।

प्रतिनिधिसभाका सांसद गौतमले किमाथाङ्का जोडिन केही किलोमिटरमात्र बाँकी रहेकाले यसै वर्षभित्रमा गाडीमा किमाथाङ्का जान सकिने बताए । उनले विस्फोटक पदार्थ खरिद गरेर भीर फुटाउने प्रक्रियाका लागि नेपाली सेनासँग कुरा भएको र करिब निष्कर्षमा पुगेको बताए ।

‘यही आर्थिक वर्ष भित्र खाँदबारीदेखि किमाथाङ्कासम्म गाडी गुडाउने योजना लिएर अघि बढेको छु,’ उनले भने, ‘बजेटको व्यवस्था गरेर सडक जोड्छु । यस खण्डमा तीव्र गतिमा काम भइरहेको उनले बताए । त्यसैले पनि यो क्षेत्रको भ्रमण आवश्यक भएकोले जानै परेको उनको भनाइ छ ।