इटहरीः इँटा व्यवसायी फिदा खानको हत्या भएपछि सुनसरीको दुहबी बजारको अवस्था तनावग्रस्त छ । बिहानैदेखि बन्द भएको बजार खुल्न सकेको छैन ।
हत्या गरिएका व्यक्तिका आफन्त र समर्थकले दुहबी बजार बन्द गराएका छन् । मुख्य चोक तथा आसपासका बजार पसल १ बज्न लाग्दासमेत खुल्न सकेका छैनन् । अति आवश्यकीय वस्तु औषधी बिक्री गर्ने मेडिकल समेत ठप्प छन् । बिहान दुहबीको अमरदीप मेडिकल हलका सञ्चालकलाई कुटपिट गरी टाउकोमा चोट पुर्याइएपछि अहिले अन्य औषधी पसलसमेत बन्द भएका छन् ।
बन्द गराउने समूहले हातमा लाठीसमेत बोकेको स्थानीय प्रभु साहले जानकारी दिए । दुहबी हुँदै विराटनगर जाने सवारी बीच बाटोमा अलपत्र परेका छन् । दुहबीको बाटो हुँदै इनरूवाबाट विराटनगर जाने र धरानबाट विराटनगरतर्फ हिँडेका सवारी गन्तव्यमा पुग्न सकेका छैनन् ।
पूर्वको झापाबाट आएका सवारी भने मोरङको विराटचोकबाट विराटनगरतर्फ जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।