इटहरीः बिहान साढे ६ बजे दुहबी बजार नजिक घरबाट मर्निङवाकमा निक्लिएका फिदा खान २० वर्षदेखि इँटा भट्टामा इन्चार्जको काम गर्थे । उनलाई चिन्ने व्यक्तिका अनुसार मिजासिलो स्वभाव भएका हुन् खान । ५४ वर्षीय खानमाथि मोटरसाइकलमा आएका २ बन्दुकधारीले ३ गोली फायर गरेका थिए ।
२ गोली उनको छातीमा लागेको थियो । उपचारका लागि विराटनगर लैजाँदै गर्दा खानको बाटोमै मृत्यु भएको थियो । खान दुहबीका चिनिएका व्यवसायी थिए । उनी इटहरीका इँटा उद्योगी खगेन्द्र श्रेष्ठको भट्टामा लामो समय देखि काम गर्थे । उनले सो भट्टा स्थापना कालदेखि सम्हालेको जिम्मेवारी हालसम्म पनि कायम भएको उनका आफन्त हाजी मियाले प्रदेश पोर्टललाई जानकारी दिए ।
खान विद्युत प्राधिकरणका जागिरेसमेत थिए । उनको ड्युटी खनारको प्राधिकरणको शाखा कार्यालयमा थियो । लामो समयदेखि उनी प्राविधिकको रूपमा खटिएका थिए ।
कार्यालयसमय बाहेक बिहान बेलुका उनी इँटा भट्टामा काम गरिरहेका हुन्थे । उनका २ श्रीमती छन् । २ श्रीमतीबाट जन्मिएका ५ छोरा र ३ छोरी छन् । २ छोरीको भने विवाह भइसकेको छ ।
खानलाइ किन र कसले हत्या गर्याे रहस्यमै छ । स्थानीयवासी र आफन्तले भने हत्यामा संलग्नलाई पक्राउ नगरी शवको अन्तिम संस्कार नगर्ने अड्डी लिइरहेका छन् ।