इटहरीः बुधबार बिहान दुहबी– ९ मा हत्या गरिएका फिदा खानको हत्याको विषयलाई लिएर दुहबीवासीले प्रधानमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत् प्रधानमन्त्रीसमक्ष ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो ज्ञापनपत्रमा २४ घण्टा भित्रमा अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षतिपूर्ति तुरुन्त उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
फिदाको मृत्युपछि परिवारको लालनपालन गर्ने कोही नभएकाले उनका छोरालाई तुरुन्त रोजगारी दिनुपर्ने माग राखिएको छ । देशभरि नै हत्या, हिंसा, बलात्कार र मुस्लिम समुदायको शृङ्खलाबद्ध हत्या हुँदासमेत मौन रहने सरकारको भत्र्सना गरिएको छ । शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने उल्लेख छ ।
यसै क्रममा सयौंको सङ्ख्यामा रहेका प्रदर्शनकारीले सुनसरीको दुहबीस्थित कोशी राजमार्गमा फिदा हुसेनको शव राखी प्रदर्शन गरिरहेका छन् । २४ घण्टाभित्रमा ज्ञापनपत्रमा उल्लेख भएको माग सम्बोधन नभए थप आन्दोलन अगाडि बढाउने मृतकका दाजु मेंहदी हुसेनले बताए ।
ज्ञापनपत्रमा सुनसरी क्षेत्र नम्बर २ का सांसद सीताराम मेहता, नेपाली काङ्ग्रेसका सुनसरी सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, १ नम्बर प्रदेश सांसद अगमलाल चौधरी, १ नम्बर प्रदेश सांसद लीलम बस्नेत, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार लगायतको हस्ताक्षर रहेको छ ।