धरानः प्रतिनिधिसभा सदस्य जयकुमार राईले धरानलाई खेलकुदको शहरको रूपमा विकास गर्नको लागि सबै लाग्नुपर्ने बताएका छन् ।
धरान नगर खेलकुद विकास समितिको आयोजनामा बुधबार ‘दोस्रो मेयर कप स्कुल ओलम्पिक–२०७५’ को उद्घाटनको क्रममा सांसद राईले यस्तो बताएका हुन् । सांसद राईले धरानको खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका जनप्रतिनिधिलगायत सम्पूर्ण धराने एकजुट हुनुपर्ने बताए ।
‘धरानका कार्यवाहक मेयर, वडाध्यक्ष, सदस्य हुनुहुन्छ, प्रदेशका माननीयज्यूहरू हुनुहुन्छ र म सङ्घीय संसदमा छु अनि त्यसरी नै विभिन्न राजनीतिक दल र बुद्धिजीविहरू यो धरानलाई कसरी समृद्ध बनाउने भन्ने कुरामा लाग्नुपर्छ ।’
धरानलाई पूर्वाधार विकास र व्यापारिक शहरको रूपमा मात्र विकास गरेर नहुने भन्दै खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले स्पष्ट पारे । पूर्वको सफा र जनसहभागिताको शहरको रूपमा परिचित धरान रङ्गशालाको हालत देखेर आफू चिन्तित भएको समेत सांसद राईले बताए ।
अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सके देशले नाम र दाम दुवै कमाउने बताउँदै क्षमतावान् खेलाडी उत्पादनमा लाग्नुपर्ने उनले बताए । उनले भने, ‘धरानको विकासमा सबै राजनीतिक दल, बुद्धिजीवि, सङ्घसस्था सहभागी हुन्छौं, हामीले जुनसुकै पार्टीमा आस्था राखे पनि धरानको विकासमा हाम्रो एकजुट हुने विशेषता छ यो सधैँ कायम रहिरहोस् ।’